काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले सभामा सांसदहरूले उठाएका विषयमा जवाफ दिन नेपाल सरकारका सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गरेका छन्।
बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय तथा प्रादेशिक सरोकारका समयमा सांसदहरूले उठाएका विषयप्रति सरकारको स्पष्ट धारणा आउनुपर्ने भन्दै सम्बन्धित मन्त्रीहरूलाई सभामै जवाफ दिन निर्देशन दिए।
रुलिङ गर्दै उनले भने, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु।”
अध्यक्ष दाहालको रुलिङसँगै अब राष्ट्रियसभामा सांसदहरूले उठाएका विभिन्न सार्वजनिक सरोकारका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले औपचारिक रूपमा जवाफ दिनुपर्ने भएको छ।


