CLI

नार्कका दुई कर्मचारी सेवाबाट हटाइए

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्ष गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित (बेपत्ता) रहेका कर्मचारीमाथि कारबाही सुरु गरेकी छन्।

सुशासन, जवाफदेहिता र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै मन्त्री चौधरीले पहिलो चरणमा नार्कका दुई कर्मचारीलाई सेवाबाट हटाइएको जानकारी दिएकी छन्। उनका अनुसार दरबन्दी मात्र ओगटेर कार्यालयमा उपस्थित नभई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको हो।

मन्त्री चौधरीले नार्कबाट सुरु गरिएको यस्तो अभियान मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अन्य निकायहरूमा पनि विस्तार गरिने बताइन्। लामो समयदेखि सम्पर्कविहीन र कार्यालयमा अनुपस्थित रहेका कर्मचारीको विवरण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

परिषद्का अनुसार कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियमबमोजिम सम्बन्धित कर्मचारीलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। यसअघि सम्बन्धित कर्मचारीको स्थायी ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिक पत्रिकामार्फत सात दिनभित्र सम्पर्कमा आउन सूचना प्रकाशित गरिएको थियो। तोकिएको अवधिसम्म पनि सम्पर्कमा नआएपछि परिषद्को कार्यकारी समितिको निर्णयअनुसार उनीहरूलाई सेवाबाट हटाइएको परिषद्ले जनाएको छ।

सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत (छैटौँ तह) पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।

Leave Your Comment

Related News