काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेको छ। नेपाल सरकारले ईद अल अधा–२०२६ को अवसरमा प्रदान गरिएको उक्त आममाफीप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यूएई सरकारको यो कदमलाई नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्द अझ सुदृढ बनाउने महत्वपूर्ण पहलका रूपमा लिइएको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार उक्त आममाफीको निर्णय मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको आधारमा यूएई सरकारले गरेको हो।
आममाफी प्राप्त गरेका १११ नेपाली नागरिक अन्य कुनै कानुनी मुद्दा वा यात्रा सम्बन्धी प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
नेपाल सरकारले यूएई सरकारको यस मानवीय निर्णयले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।


