CLI

एकै दिन बैंकिङ प्रणालीमा ३८ अर्ब निक्षेप थपियो, सीडी रेसियो घटेर ७१.९३ प्रतिशतमा

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको दैनिक तथ्यांकअनुसार बिहीबारसम्म ८१ खर्ब ३४ अर्ब रुपैयाँ रहेको कुल निक्षेप शुक्रबार ८१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो।

यस्तै, कर्जा प्रवाह भने सामान्य रूपमा बढेको छ। बिहीबारसम्म ५९ खर्ब ३० अर्ब रुपैयाँ रहेको कुल कर्जा शुक्रबार ५९ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। यससँगै एकै दिनमा बैंकिङ प्रणालीबाट थप १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ।

तथ्यांकअनुसार शुक्रबारसम्म वाणिज्य बैंकहरूमा मात्र ७३ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने उनीहरूले ५२ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

निक्षेप उल्लेख्य रूपमा बढ्दा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ। अघिल्लो दिन ७२.२४ प्रतिशत रहेको सीडी रेसियो शुक्रबार ७१.९३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यसैगरी, बैंकहरूबीचको अल्पकालीन तरलताको अवस्थालाई संकेत गर्ने अन्तरबैंक ब्याजदर शुक्रबार २.७५ प्रतिशत कायम रहेको छ।

एकै दिन निक्षेपमा उल्लेख्य वृद्धि र सीडी रेसियोमा आएको गिरावटले बैंकिङ प्रणालीमा तरलता थप सहज बन्दै गएको संकेत गरेको छ। कर्जा विस्तार भने अझै सुस्त गतिमै रहेको तथ्यांकले देखाउँछ।

 

Leave Your Comment

Related News