काठमाडौं । धनुषा जिल्लास्थित राम जानकी मन्दिरलगायत विभिन्न मठ–मन्दिरअन्तर्गत रहेका गुठी जग्गामा भएको अतिक्रमण हटाउन सरकारले ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार गुठी संस्थानका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख, नापी कार्यालय धनुषाका प्रमुख तथा गुठी संस्थान शाखा कार्यालय धनुषाका प्रमुखलगायत सदस्य रहेका छन्।
समितिलाई बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, राम जानकी मन्दिरलगायत प्रमुख मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापन सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
समितिले कार्यान्वयनका लागि कार्यक्षेत्रगत शर्त (TOR) समेत पाएको छ। त्यसअनुसार मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमणको रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई ७ दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न सूचना जारी गरिनेछ।
यस्तै, अन्य गुठी जग्गामा घर–टहरा बनाएर बसोबास गरिरहेका क्षेत्रको रेखाङ्कन गरी १५ दिनभित्र संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइनेछ।
तोकिएको समयभित्र अतिक्रमण नहटाएमा स्थानीय प्रशासनको सहयोगमा थप १५ दिनभित्र अतिक्रमित जग्गा खाली गराइने मन्त्रालयले जनाएको छ।
अतिक्रमण हटाउने कार्य सम्पन्न भएपछि समितिले १५ दिनभित्र प्रगति विवरणसहित मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेका अनुसार समिति गठनसँगै विगतका प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनमा लैजाने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।


