काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीलाई उनको निधन भएको चार महिनाभन्दा बढी समयपछि शुक्रबार उनको जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार एक सातासम्म चलेको राष्ट्रिय श्रद्धाञ्जलि कार्यक्रमपछि एक पारिवारिक समारोहका बीच निजी रूपमा दफन प्रक्रिया सम्पन्न गरिएको हो।
राजधानी तेहरानबाट सुरु भएको शवयात्रा र श्रद्धाञ्जलि कार्यक्रममा लाखौँ इरानी नागरिक सहभागी भएका थिए। तेहरानपछि धार्मिक सहरहरू कोम, नजफ र कर्बलामा समेत विशाल शवयात्रा आयोजना गरिएको थियो। अन्तिम चरणमा अत्यधिक भीड नियन्त्रणबाहिर गएपछि उनको कफिनलाई हेलिकोप्टरमार्फत मशहदस्थित इमाम रेजा दरगाह पुर्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
शोकसभामा सहभागीहरूले इरानी राष्ट्रिय झण्डा, खामेनीका तस्बिर र विभिन्न राजनीतिक तथा धार्मिक नारासहित श्रद्धाञ्जलि व्यक्त गरेका थिए। शवयात्राका क्रममा केही स्थानमा अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तीव्र नाराबाजीसमेत भएको थियो।
खामेनीको अन्त्येष्टि भइरहँदा इरान र अमेरिकाबीचको भू–राजनीतिक तनाव भने पूर्ण रूपमा साम्य भइनसकेको विश्लेषण गरिएको छ। पछिल्ला दिनहरूमा दुवै पक्षबीच सीमित सैन्य गतिविधि र आरोप–प्रत्यारोप जारी रहे पनि तत्कालै पूर्ण स्तरको युद्ध पुनः शुरु हुने स्पष्ट संकेत भने नदेखिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।


