CLI

साताको सेयर : नेप्से परिसूचक करिब २ प्रतिशतले घट्यो, औषत कारोबार ४ अर्ब ८५ करोड

काठमाडौं । यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६५३.४० विन्दुमा बन्द भएको नेप्से, यस साता १.९८ प्रतिशत अर्थात ५२.६२ अंक घटेर २६००.७८ विन्दुमा बन्द भएको छ । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ६.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३० अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३२.४० प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३.२२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १३.५९ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९० अर्ब रुपैयाँ घटेर ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७९ प्रतिशत घटेको छ । गत साता २१.६४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.१७ अंक घटेर २१.४७ विन्दुमा बन्द भएको छ ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। गत साता २४६२.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७३.७८ अंक घटेर २३८८.४७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २९६.१५ अंक घटेको छ। यस साता २ कम्पनीको कुल ९३ लाख २७ हजार ८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

Leave Your Comment

Related News