काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सदस्यहरूले राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाको प्रगति अनुगमनमा मात्र सीमित नभई त्यसको परिणामप्रति पनि जिम्मेवार बन्नुपर्ने बताएका छन्।
सोमबार बसेको समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त प्रगति, कमजोर कार्यान्वयन र गुणस्तरप्रति गम्भीर प्रश्न उठाउँदै आयोगले सम्बन्धित निकायलाई जवाफदेही बनाउन प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।
सांसद सागर भुसालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति अत्यन्तै निराशाजनक रहेको उल्लेख गर्दै यसको जिम्मेवारीबाट राष्ट्रिय योजना आयोग उम्किन नमिल्ने बताए।
“तपाईंहरू अनुगमनमा त जानुभयो, तर कम काम भएकोमा कसलाई कति पटक कारबाहीको सिफारिस गर्नुभयो? यो जिम्मा कसको हो?” भन्दै उनले आयोगको भूमिकामाथि प्रश्न उठाए। आयोगले केवल अनुगमन गर्ने तर आयोजनाहरूको अवस्था भने उस्तै रहनु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी थियो।
बैठकमा अन्य सांसदहरूले पनि राष्ट्रिय गौरवका आयोजनाहरू दीर्घकालीन उपयोगिता र गुणस्तरलाई ध्यानमा राखेर निर्माण नभएको बताएका थिए। उनीहरूले योजनाको डिजाइन र कार्यान्वयनमा कमजोरी देखिएको उल्लेख गर्दै यसले भविष्यमा थप आर्थिक भार सिर्जना गर्ने चेतावनी दिए।
सांसदहरूले विशेषगरी मध्यपहाडी राजमार्गको उदाहरण दिँदै सडक अनावश्यक रूपमा नागबेली बनाइएकाले यातायात लागत बढ्ने र आयोजनाको प्रभावकारिता घट्ने अवस्था सिर्जना भएको बताए। उनीहरूले राष्ट्रिय गौरवका आयोजनाहरूमा गुणस्तर, समयसीमा र लागत नियन्त्रण सुनिश्चित गर्न राष्ट्रिय योजना आयोगले थप सक्रिय र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।


