काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज, नेप्से र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई विभिन्न २५ बुँदे ध्यानकर्षणपत्र बुझाएका छन् । पछिल्लो समय सरकारले पुँजीबजारको समस्यालाई समाधान गर्न नखोजेको भन्दै नेप्से र सेबानका प्रमुखलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।
लगानीकर्ता तारा फुल्लेलले २५ बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत बुझाएका हुन् । जसमा सेयर बजारको समस्या समाधान गनुपर्ने उल्लेख गरिएको छ । पुँजी बजारको समस्या सुनवाई नभएको भन्दै मंगलबार लगानीकर्ताहरु सेबोन घेराउ गर्न गएका थिए ।
यस्तो २५ बुँदा सहित लेखिएको पत्र
श्रीमान अध्यक्षज्यू नेपाल धितोपत्र खुमलटार, ललितपुर
तथा
श्रीमान प्रमुख कार्यकारी अधिकृतज्यू नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE) सिंहदरबार प्लाजा, काठमाडौं
विषयः नेपालको पूँजी बजारलाई आधुनिक, पारदर्शी र लगानी
महोदय,
नेपालको पूँजीबजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आव लाखौं लगानीकर्ताको तर्फबाट एउटा जिम्मेवार, इमानदार र व्यावहारिक लगानीकर्ताको हैसियतले यो ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छु।
विगत धेरै वर्षदेखि नेपालको पूँजीबजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुकूल बनाउने प्रतिबद्धता पटक–पटक व्यक्त भएपनि अधिकांश सुधारका विषयहरू घोषणा र छलफलमै सीमित रहँदा लगानीकर्ताले अपेक्षित सेवा र सुविधा प्राप्त गर्न सकेका छैनन। यसले बजारप्रतिको विश्वास कमजोर बनाउनुका साथै लगानीकर्ताको समय, श्रम र अवसरको समेत क्षति भइरहेको छ।
यस सन्दर्भमा निम्न विषयहरूलाई यथाशीघ्र कार्यान्वयन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
१. आज किनेर आजै बेच्न सकिने इन्ट्रा डे ट्रेडिङ (Intraday Trading) व्यवस्था तत्काल लागू गरियोस ।
२. मार्जिन कारोबार (Margin Trading) प्रभावकारी रूपमा सञ्चालनमा ल्याइयोस।
३. अप्सन (Options) तथा ETF कारोबार सुरु गरियोस।
४. उधारो (Outstanding) कारोबारको अन्त्य गरी समयमै कारोबार फर्छ्योट हुने व्यवस्था गरियोस।
५. ओटीसी (OTC) कारोबारलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालन गरियोस।
६. कारोबार खाता र बैंक खाता प्रत्यक्ष रूपमा लिंक गरी स्वचालित रकम भुक्तानी तथा प्राप्तिको व्यवस्था गरियोस्।
७. ब्रोकर खाताबाटै आईपीओ, एफपीओ, हकप्रद तथा अन्य सार्वजनिक निष्काशनमा आवेदन दिन सकिने व्यवस्था गरियोस।
८. शेयर खरिद भएपछि तत्काल डिम्याट खातामा सेयर देखिने (Real-time Credit) व्यवस्था गरियोस।
९. सेयर बिक्रीपछि रकम तत्काल कारोबार खातामा उपलब्ध हुने (Real-time Settlement) व्यवस्था लागू गरियोस !
१०. शेयर बिक्री गर्दा स्वतः EDIS हुने प्रणाली लागू गरियोस।
११. नगद लाभांश स्वतः लगानीकर्ताको कारोबार खातामा जम्मा हुने व्यवस्था मिलाइयोस।
१२. डिम्याट खातामा हुने प्रत्येक कारोबारको सूचना इमेल तथा SMS मार्फत तत्काल उपलब्ध गराइयोस।
१३. हकप्रद, बोनस, लाभांश, लिलामी, मर्जर तथा अन्य महत्त्वपूर्ण सूचनाहरू सम्बन्धित सेयरधनीलाई इमेल वा SMS मार्फत अनिवार्य रूपमा पठाइयोस।
१४. ब्रोकर खाताबाटै एक क्लिकमा वार्षिक नाफा–नोक्सान (Profit & Loss Statement) हेर्न सकिने व्यवस्था गरियोस।
१५. ब्रोकर खाताबाटै पूँजीगत लाभकर (Capital Gains Tax) को स्वचालित हिसाब तथा फर्छ्योट हुने प्रणाली विकास गरियोस।
१६. NEPSE–30 Index लगायत घोषणा गरिएका नयाँ सूचकहरू तत्काल कार्यान्वयन गरियोस।
१७. क्षेत्रगत (Sectoral) तथा विषयगत (Thematic) सूचकहरूको विस्तार गरियोस।
१८. NEPSE को वेबसाइट तथा सूचना प्रणालीलाई आधुनिक, छिटो र प्रयोगकर्तामैत्री बनाइयोस ।
१९. सबै नियामकीय सूचना, निर्णय तथा परिपत्रहरू एउटै डिजिटल प्लेटफर्मबाट सहज रूपमा प्राप्त हुने व्यवस्था गरियोस।
२०. T+1 तथा भविष्यमा T+0 Settlement प्रणाली लागू गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गरियोस।
२१. लगानीकर्ताले एउटै डिजिटल प्लेटफर्मबाट बैंक, ब्रोकर, डिम्याट र मेरोसेयरसँग सम्बन्धित अधिकांश सेवा प्राप्त गर्न सक्ने एकीकृत प्रणाली विकास गरियोस।
२२. लगानीकर्ताको गुनासो, उजुरी तथा सुझावको अनलाइन ट्र्याकिङ र समयसीमाभित्र समाधान हुने व्यवस्था गरियोस।
२३. ब्रोकर तथा बजारसँग सम्बन्धित सम्पूर्ण शुल्क, कमिसन र करको विवरण पूर्ण पारदर्शी रूपमा कारोबारसँगै देखिने व्यवस्था गरियोस।
२४. लगानीकर्ताको सम्पत्ति तथा कारोबारको सुरक्षा सुनिश्चित गर्न आधुनिक साइबर सुरक्षा तथा प्रमाणीकरण (Security & Authentication) प्रणाली लागू गरियोस।
२५. नेपालको पुँजीबजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार पूर्ण डिजिटल, पारदर्शी, छरितो र लगानीकर्तामैत्री बनाउन निश्चित समयसीमासहितको सुधार कार्ययोजना सार्वजनिक गरी चरणबद्ध रूपमा कार्यान्वयन गरियोस।
आजको विश्व प्रविधिमा तीव्र गतिले अघि बढिरहेको छ। विकसित तथा धेरै विकासोन्मुख मुलुकहरूले समेत लगानीकर्तालाई छिटो, सुरक्षित र सहज सेवा उपलब्ध गराइसकेका छन, तर नेपालमा भने सामान्य प्रविधिमैत्री सुधारहरू समेत वर्षौंसम्म कार्यान्वयन हुन नसक्नु दुःखद विषय हो। यस अवस्थाले लगानीकर्ताको समयको मात्र होइन, बजारप्रतिको विश्वासको पनि क्षय गरिरहेको छ।
अतः नियामक निकाय र बजार सञ्चालक संस्थाको रूपमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले यी सुधारहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरी नेपालको पूँजीबजारलाई आधुनिक, प्रतिस्पर्धी, पारदर्शी तथा लगानीकर्तामैत्री बनाउने दिशामा ठोस पहल गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
धन्यवाद।
लगानीकर्ता
तारा प्रसाद फुल्लेल


