CLI

करिब १० दिनमा फेला पर्यो जंगली हात्ती ‘धुर्बे’, सेटेलाइट कलर जडान

चितवन । दुई जनाको ज्यान लिएपछि नियन्त्रणमा लिन खोजी भइरहेको जंगली भाले हात्ती ‘धुर्बे’लाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले फेला पारी डार्ट गरेर सेटेलाइट प्रविधिमा आधारित कलर जडान गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार ‘धुर्बे’ बुधबार राति करिब १०:३० बजे निकुञ्जको पश्चिम क्षेत्रस्थित सुखिभार पोस्ट नजिक फेला परेको थियो। त्यसपछि प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएर यसको गतिविधि निगरानी गर्न सेटेलाइट कलर जडान गरिएको हो।

‘धुर्बे’ हात्तीले गत असार २० गते मध्यरातमा भरतपुर महानगरपालिका–२३, जगतपुर बेलहठ्ठामा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणबाट आमा–छोराको घटनास्थलमै मृत्यु भएपछि हात्तीलाई नियन्त्रणमा लिन स्थानीयवासी तथा सरोकारवालाबाट तीव्र दबाब बढेको थियो।

घटनालगत्तै निकुञ्जले खोजी टोली परिचालन गरे पनि ‘धुर्बे’लाई फेला पार्न करिब १० दिन लागेको थियो।

निकुञ्जका अनुसार ‘धुर्बे’ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मात्र नभई विगतमा बारा–पर्सासम्म पुगेर समेत मानिसमाथि आक्रमण गर्दै आएको छ।

सूचना अधिकारी  मगरका अनुसार असार २० गतेसम्म ‘धुर्बे’को आक्रमणबाट २५ जनाले ज्यान गुमाइसकेका छन्। निकुञ्जले अब सेटेलाइट कलरमार्फत हात्तीको गतिविधि निरन्तर निगरानी गर्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कदम चालिने जनाएको छ।

Leave Your Comment

Related News