वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण “अत्यन्तै कडा” रहेको बताएका छन्। उनले ती आक्रमण हालै मारिएका तीन अमेरिकी सैनिकको “सम्मानमा” गरिएको दाबी गरेका छन्। तीमध्ये दुई सैनिक जोर्डनमा र एक सैनिक इराकमा मारिएका थिए।
स्थानीय समयअनुसार सोमबार बिहानै अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले लगातार नवौँ रात पनि इरानमाथि नयाँ चरणको आक्रमण सुरु गरेको जनाएको छ। यस क्रममा इरानका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ।
अमेरिकाले इरानले हर्मुज जलर्माग हुँदै आवतजावत गर्ने जहाजहरूमाथि गरिरहेको आक्रमणलाई थप कमजोर पार्ने उद्देश्यले सैन्य अड्डा तथा सञ्चार सञ्जाललाई निशाना बनाइएको जनाएको छ।
यता इरानले सिरियामा “अप्रत्याशित आक्रमण” गरेको तथा जोर्डनको अकाबा विमानस्थलमा रहेका अमेरिकी विमानलाई पनि निशाना बनाएको दाबी गरेको छ।
यसैबीच, कुवेतका सशस्त्र बलले इरानबाट आएका ड्रोनहरू अवरोध गरी खसालेको जानकारी दिएका छन्।
इरानको अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी आक्रमण तब्रिज, चाबहार, कोनारक, बन्दर माहशहर र बन्दर इमाम खोमेनीलगायतका सहरमा भएको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका दुई तेल ट्याङ्करमा विस्फोट भएको पनि जनाएका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ती ट्याङ्करहरू जलडमरूमध्यको “असुरक्षित तथा जोखिमपूर्ण दक्षिणी मार्ग” हुँदै गइरहेका बेला विस्फोट भएर रोकिएको दाबी गरेको छ। तर सेन्टकमले उक्त दाबीलाई अस्वीकार गरेको छ।
आईआरजीसीले अमेरिकी आक्रमण जारी रहेसम्म हर्मुज जलडमरूमध्यबाट पेट्रोकेमिकल पदार्थ, तेल तथा ग्यासको सुरक्षित ढुवानी सम्भव नहुने चेतावनी दिँदै अमेरिकाविरुद्ध “दण्डात्मक कारबाही” गर्ने जनाएको छ।
यसअघि अमेरिकी अधिकारीहरूले शनिबार उत्तरी इराकमा इरानको आक्रमणमा एक अमेरिकी सैनिक मारिएको पुष्टि गरेका थिए।
त्यसको एक दिनअघि जोर्डनस्थित एक सैन्य अड्डामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अर्का एक सैनिक बेपत्ता भएको जानकारी दिइएको थियो। अमेरिकाले घटनास्थलबाट “पहिचान नखुलेका मानव अवशेष” फेला परेको र त्यसको पुष्टि गर्ने प्रक्रिया जारी रहेको जनाएको छ।
सप्ताहन्तभर अमेरिका र इरानबीच आक्रमण जारी रहँदा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका कूटनीतिक समाधानका लागि सधैं खुला रहेको बताएका छन्।
उनले अन्तर्राष्ट्रिय समुदायले हर्मुज जलडमरूमध्यजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग इरानको नियन्त्रणमा रहने वा नरहने विषयमा निर्णय गर्नुपर्ने उल्लेख गर्दै तेहरानले उक्त समुद्री मार्गलाई दबाबको माध्यमका रूपमा प्रयोग गरिरहेको आरोप लगाए।
यी घटनाक्रम जुनको मध्यतिर भएको युद्धविरामको प्रारम्भिक सहमति विफल भएपछि भएका हुन्। अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई ८ मा उक्त सहमति “समाप्त भएको” घोषणा गरेपछि स्थायी शान्तिका लागि जारी वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


