CLI

जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक: मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन् ।

नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन् । उनले उक्त लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहने उल्लेख गरिन् ।

उनले अन्तर्राष्ट्रिय साझेदारीमार्फत आधुनिक कृषि पूर्वाधार निर्माण, उत्पादन वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य शृङ्खला विकासमा सरकारले जोड दिएको बताइन् ।

मन्त्री चौधरीले नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दा असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवाको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उल्लेख गरिन् । उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभावले नेपाली कृषि उपजको निर्यात प्रवर्द्धनमा समेत समस्या भइरहेको बताइन् ।

‘कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई बहुसंख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार हो । तर आज कृषि क्षेत्रले न्यून उत्पादकत्व, जलवायु परिवर्तनका गम्भीर जोखिम, प्राकृतिक विपद्, युवाको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सीमित पहुँचजस्ता चुनौतीको सामना गरिरहेको छ,’ उनले भनिन् ।

उनले सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण तथा आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताइन् । साथै नवप्रवर्तन र जलवायु–स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि, दिगो मूल्य शृङ्खला विकास तथा महिला र सीमान्तकृत समुदायको सशक्तीकरण सरकारको प्रमुख लक्ष्य रहेको उल्लेख गरिन् ।

‘चीन सरकार, सिडका र एफएओको सहयोगमा सुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाले जलवायु–स्मार्ट कृषि अभ्यासको प्रवर्द्धन, पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमता सुदृढीकरणमार्फत नेपालको कृषि खाद्य प्रणालीलाई थप सक्षम र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु,’ उनले भनिन् ।

मन्त्री चौधरीले चीन सरकार, सिडका र एफएओको सहयोगमा सुरु भएको उक्त परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण तथा दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् ।

उनले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने धारणा व्यक्त गरिन् । ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानले नेपालको कृषि क्षेत्र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

Leave Your Comment

Related News