CLI

निक्षेप संकलन १५ प्रतिशतले बढ्दा कर्जा विस्तार ७ प्रतिशत पनि पुगेन, कुन बैंकको प्रदर्शन कस्तो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन तीव्र गतिमा बढेपनि कर्जा विस्तारले अपेक्षित गति लिन सकेको छैन । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप झन्डै १५ प्रतिशतले वृद्धि हुँदा कर्जा विस्तार भने ७ प्रतिशत पनि पुग्न सकेन । यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जाको माग कमजोर रहेको संकेत गरेको छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा ६५ खर्ब ३० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप एक वर्षमै ९ खर्ब ६७ अर्ब रुपैयाँले बढेर आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ७४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। यो १४.८१ प्रतिशतको वृद्धि हो। तर, यही अवधिमा कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब रुपैयाँबाट ५२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । अर्थात्, एक वर्षमा कर्जा ३ खर्ब १५ अर्ब रुपैयाँले मात्र बढ्दा कर्जा विस्तार ६.३३ प्रतिशतमा सीमित रह्यो।

हाल बैंकिङ प्रणालीमा भने निक्षेप ८२ खर्ब ८८ अर्ब रुपैयाँ नाघिसकेको छ । बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त भए पनि त्यसअनुसार कर्जा परिचालन हुन सकेको छैन। बैंकहरूले पछिल्ला महिनामा निक्षेप र कर्जाको ब्याजदर निरन्तर घटाउँदै लगे पनि त्यसले ऋणको माग बढाउन सकेको छैन । बजारमा आर्थिक गतिविधि सुस्त हुँदा उद्योग, व्यापार तथा सेवा क्षेत्रले अपेक्षित कारोबार गर्न सकेका छैनन्। अधिकांश उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले नयाँ लगानीका लागि ऋण लिनुपर्ने आवश्यकता नदेखिएको बैंकरहरू बताउँछन् ।

उपभोक्ताको खरिद क्षमता कमजोर हुँदा व्यवसाय विस्तारका योजना पनि प्रभावित भएका छन्। केही बैंकको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) नियामकीय दबाबमा रहेकाले पनि कर्जा विस्तार गर्ने क्षमता सीमित भएको बैंकिङ क्षेत्रका अधिकारीहरू बताउँछन्। घरजग्गा र सेयर बजारमा आएको मन्दीले पनि कर्जा विस्तारलाई प्रभावित बनाएको छ। केही वर्षअघिसम्म बैंकहरूको ठूलो हिस्सा कर्जा जाने यी दुई क्षेत्र अहिले सुस्त रहेकाले नयाँ ऋणको माग उल्लेख्य रूपमा घटेको छ।

निजी क्षेत्रको आत्मविश्वास पूर्ण रूपमा फर्किन नसक्नु अर्को प्रमुख कारण मानिएको छ। लगानीका नयाँ अवसर सीमित हुनु, नीतिगत अन्योल, सरकारी पुँजीगत खर्च सुस्त रहनु तथा पछिल्ला समय व्यवसायीसँग सम्बन्धित घटनाक्रमले पनि नयाँ लगानीको वातावरण कमजोर बनाएको जानकारहरू बताउँछन्।

साथै, बैंकहरू पनि अहिले ऋण लगानीमा पहिलेभन्दा बढी सतर्क बनेका छन्। निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकहरूले ऋणीको वित्तीय अवस्था, नगद प्रवाह र परियोजनाको सम्भाव्यताको कडा मूल्याङ्कन गर्न थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव नयाँ कर्जा प्रवाहमा परेको देखिन्छ ।अर्कोतर्फ, रेमिटेन्सको निरन्तर वृद्धिले बैंकमा निक्षेप थपिने क्रम भने रोकिएको छैन। विदेशबाट आउने अधिकांश रकम बैंकिङ प्रणालीमै जम्मा हुने र लगानीका वैकल्पिक क्षेत्रको अभावका कारण सर्वसाधारणले पनि बचत बैंकमै राख्ने प्रवृत्ति बढेको छ।

राष्ट्रिय वाणिज्य बैंक निक्षेप वृद्धिमा पहिलो

निक्षेप वृद्धिमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि रहँदै ३७.९९ प्रतिशत वृद्धि गरेको छ। त्यसपछि नेपाल बैंकको निक्षेप २४.७१ प्रतिशत, ग्लोबल आइएमई बैंकको २१.८१ प्रतिशत, कृषि विकास बैंकको १९.७६ प्रतिशत, माछापुच्छ्रे बैंकको १९.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको १७.७२ प्रतिशत, सिद्धार्थ बैंकको १६.९७ प्रतिशत र लक्ष्मी सनराइज बैंकको १५.३३ प्रतिशतले बढेको छ ।

त्यस्तै हिमालयन बैंकको १३.९३ प्रतिशत, नबिल बैंकको १३.०८ प्रतिशत, एनएमबी बैंकको १२.१० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.१० प्रतिशत, सानिमा बैंकको १०.८४ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको ९.२२ प्रतिशत, कुमारी बैंकको ८.७२ प्रतिशत, नेपाल एसबीआई बैंकको ६.६४ प्रतिशत, एनआईसी एशिया बैंकको ६.५४ प्रतिशत, प्राइम कमर्सियल बैंकको ५.७३ प्रतिशत र एभरेष्ट बैंकको ५.७२ प्रतिशतले निक्षेप बढाएका छन्। प्रभु बैंकको निक्षेप भने केवल १.४८ प्रतिशतले बढेको छ, जुन सबैभन्दा कम हो ।

Deposit (Amt in Arba)
Bank Ashar, 2083 Ashar, 2082 Diff (%)
Rastriya Banijya Bank Ltd 681.63 493.98 37.99%
Nepal Bank Ltd 416.38 333.87 24.71%
Global IME Bank Ltd 700.44 575.05 21.81%
Agricultural Development Bank Ltd 351.78 293.73 19.76%
Machhapuchchhre Bank Ltd 222.1 185.85 19.50%
Standard Chartered Bank Nepal Ltd 149.99 127.41 17.72%
Siddhartha Bank Ltd 331.5 283.41 16.97%
Laxmi Sunrise Bank Ltd 428.76 371.78 15.33%
Himalayan Bank Ltd 356.68 313.06 13.93%
Nabil Bank Ltd 601.88 532.24 13.08%
NMB Bank Ltd 317.97 283.66 12.10%
Nepal Investment Mega Bank Ltd 529.16 476.29 11.10%
Sanima Bank Ltd 249.93 225.48 10.84%
Citizens Bank International Ltd 233.82 214.08 9.22%
Kumari Bank Ltd 412.72 379.62 8.72%
Nepal SBI Bank Ltd 212.75 199.51 6.64%
NIC Asia Bank Ltd 345.72 324.49 6.54%
Prime Commercial Bank Ltd 283.4 268.05 5.73%
Everest Bank Ltd 318.37 301.14 5.72%
Prabhu Bank Ltd 353.23 348.09 1.48%
Total 7498.21 6530.79 14.81%

कर्जा विस्तारमा माछापुच्छ्रे अगाडि

कर्जा विस्तारतर्फ भने माछापुच्छ्रे बैंक १६.४६ प्रतिशत वृद्धिसहित शीर्ष स्थानमा रहेको छ। नबिल बैंकले १२.५२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १२.२४ प्रतिशत, सानिमा बैंकले ११.२१ प्रतिशत, नेपाल बैंकले १०.८५ प्रतिशत, एभरेष्ट बैंकले १०.७३ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १०.४६ प्रतिशत, एनएमबी बैंकले १०.१४ प्रतिशत, सिद्धार्थ बैंकले १०.०१ प्रतिशत, कृषि विकास बैंकले ९.५७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ८.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ८.२२ प्रतिशत, नेपाल एसबीआई बैंकले ७.१८ प्रतिशत, कुमारी बैंकले ३.४५ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले १.२४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०५ प्रतिशत तथा हिमालयन बैंकले ०.८८ प्रतिशत कर्जा विस्तार गरेका छन्।
यता प्रभु बैंक, एनआईसी एशिया बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको कर्जा भने गत आर्थिक वर्षको तुलनामा क्रमशः ३.७२ प्रतिशत, ११.८६ प्रतिशत र १९.९४ प्रतिशतले घटेको छ ।

Lending (Amt in Arba)
Bank Ashar, 2083  Ashar, 2082 Diff(%)
Machhapuchchhre Bank Ltd 171.29 147.08 16.46%
Nabil Bank Ltd 487.98 433.69 12.52%
Rastriya Banijya Bank Ltd 346.72 308.91 12.24%
Sanima Bank Ltd 206.57 185.74 11.21%
Nepal Bank Ltd 261.73 236.12 10.85%
Everest Bank Ltd 247.65 223.66 10.73%
Laxmi Sunrise Bank Ltd 320.46 290.12 10.46%
NMB Bank Ltd 267.96 243.3 10.14%
Siddhartha Bank Ltd 248.15 225.57 10.01%
Agricultural Development Bank Ltd 245.8 224.33 9.57%
Prime Commercial Bank Ltd 244.66 225.01 8.73%
Global IME Bank Ltd 476.84 440.63 8.22%
Nepal SBI Bank Ltd 153.11 142.85 7.18%
Kumari Bank Ltd 302.39 292.31 3.45%
Citizens Bank International Ltd 177.33 175.16 1.24%
Nepal Investment Mega Bank Ltd 360.32 356.57 1.05%
Himalayan Bank Ltd 256.58 254.33 0.88%
Prabhu Bank Ltd 232.19 241.17 -3.72%
NIC Asia Bank Ltd 211.13 239.54 -11.86%
Standard Chartered Bank Nepal Ltd 70.82 88.46 -19.94%
Total 5289.68 4974.55 6.33%

Leave Your Comment

Related News