CLI

नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा ,दाबी भुक्तानी दोब्बरले वृद्धि

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष चैतम्मको अवधिमा ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ८३ करोड ५३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.२३ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब १७ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी यस वर्ष बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ।यससँगै कम्पनीको कुल खर्च पनि ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जसले समग्र नाफामा प्रत्यक्ष दबाब सिर्जना गरेको छ।

कम्पनीको सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड २३ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष ईपीएस ५.४५ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.२० रुपैयाँमा झरेको छ ।

Leave Your Comment

Related News