काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो द्वन्द्वले नेपालमा नकरात्मक असर पर्नसक्ने बताएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “शान्ति सम्झौताको पालना नहुँदा पश्चिम एसियामा द्वन्द्वको अवस्था पुनः सृजना भएको । द्वन्द्व लम्बिएमा यसको चौतर्फी प्रभाव पर्न जान्छ ।”
क्षेत्रीले त्यस क्षेत्रमा रहेका नेपालीको सुरक्षा चुनौती र रोजगारीका अतिरिक्त स्वदेशमा इन्धन, निर्माण, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पर्नसक्ने बताए ।
पश्चिम एसिया क्षेत्रमा हाल विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उनले बताए । उक्त क्षेत्रमा शान्ति र स्थायित्वको लागि नेपालको धारणा यथावत नै रहेको उनले स्पष्ट पारे ।
पश्चिम एसिया क्षेत्रमा दिगो शान्ति स्थापनाका लागि गरिने कुनै पनि कूटनीतिक प्रयासहरू सफल पार्नु अहिलेको सर्वाधाकि प्राथमिकताको विषय रहेको उनले जनाए । द्वन्द्व बढ्दै गए विश्व अर्थतन्त्रले समेत फेरि एकपटक ठूलो झट्का व्यहोर्नु पर्ने उनको धारणा छ ।
“वार्ता र कूटनीतिक नै समस्या समाधानको स्थायी माध्यम हो । उक्त क्षेत्रमा दिगो शान्ति र स्ट्रेट अफ होर्मुज जलमार्गको निर्वाध उपयोगको लागि भइरहेका पहलहरूको हामी समर्थन गर्छौं,” प्रवक्ता क्षेत्रीले भने ।
नेपाली नियोगहरूबाट त्यहाँको अवस्थाबारे निरन्तर जानकारी प्राप्त भइरहेको उनले बताए । पश्चिम एसियामा रहेका नेपालीको अवस्था सामान्य रहेको र हालसम्म नेपाली प्रभावित भएको कुनै जानकारी प्राप्त नभएको समेत उनको भनाइ छ । “उहाँहरूको सुरक्षा र हितमा हामी निरन्तर सजग छौँ,” प्रवक्ता क्षेत्रीले भने ।
प्रवक्ता क्षेत्रीका अनुसार रेलमार्गबाट कार्गो ढुवानी सुरु भएपछि व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया सुरक्षित र भरपर्दो हुने तथा वस्तु आयातमा लाग्ने समय कम हुने अपेक्षा गरिएको छ।
रेल कार्गो सेवाले सडक ढुवानीमा लाग्ने अतिरिक्त खर्च र आयातकर्ताले व्यहोर्दै आएको विलम्ब शुल्क घटाउन सहयोग गर्ने सरकारको विश्वास छ। यसबाट समग्र पारवहन लागत न्यून भई व्यापार सहजीकरणमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।


