CLI

राष्ट्रिय स्वाधीनतामाथि सङ्कट, कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध गर्नुपर्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको भन्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का बेहोरेको उल्लेख गरे। उनले आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा सहित अघि बढाउने र देशको नेतृत्व गर्ने सङ्कल्प गर्नुपर्ने समय आएको बताए।

उनले राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौती समाधान गर्न, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण कठिन परिस्थितिको सामना गर्न तथा आन्दोलनलाई एकताबद्ध बनाउन सबै कम्युनिस्ट शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

प्रचण्डले मुलुकमा निरङ्कुश प्रवृत्ति देखापर्न थालेको दाबी गर्दै त्यसका विरुद्ध फेरि एकपटक सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे। उनले लोकतान्त्रिक उपलब्धि, राष्ट्रिय स्वाधीनता र जनअधिकारको रक्षाका लागि कम्युनिस्ट आन्दोलनलाई सशक्त रूपमा पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार अहिलेको राजनीतिक परिस्थितिले कम्युनिस्ट शक्तिहरूलाई विभाजित होइन, एकताबद्ध भएर अघि बढ्न आह्वान गरिरहेको छ।

Leave Your Comment

Related News