काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ गरिएको छ ।
सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । उनका अनुसार सफाइका क्रममा सङ्कलन गरिएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ ।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डा.आनन्दसिंह भाट, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, बागमती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहेको उनले बताए ।
अर्को हप्ता साउन १६ गते शनिबारको सफाइ कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्रमुनिको बागमती नदी किनारमा गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ अभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले निरन्तरता पाउँदै आएको छ ।
झरी, गर्मी, जाडो, भूकम्प, कोरोना महामारी, दसैँ तिहारजस्ता चाडपर्वका दिन शनिबार परे पनि सफाइ अभियान रोकिएको छैन । यो अभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा बागमतीका सबै सहायक नदीमा पनि सफाइ अभियान सुरु भइसकेका छन् ।
काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी सभ्यता क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा साप्ताहिक रुपमा शनिबार सफाइ अभियान चलिरहेको छ । बागमती सफाइ महाअभियानले देशभर सफाइ जागरण फैल्याएको छ ।


