CLI

कम्युनिस्ट आन्दोलन नयाँ ऊर्जा र संकल्पका साथ अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान चुनौतीका बाबजुद कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अघि बढाउनुपर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनले केही धक्का बेहोरेको स्वीकार गर्दै त्यसबाट पाठ सिकेर पुनः सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

“घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटक्याएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्छ,” उनले भने।

नेपालले कम्युनिस्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै समर्पित कार्यकर्ताको योगदानकै कारण आन्दोलनले विगतमा विभिन्न चुनौती पार गर्दै अघि बढ्न सफल भएको बताए।

उनले इतिहाससँग सम्बन्धित महत्वपूर्ण दस्तावेज र अभिलेखको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। जनआन्दोलनका क्रममा आफ्नै घरमा आगलागी हुँदा धेरै महत्वपूर्ण सामग्री नष्ट भएको स्मरण गर्दै केही अभिलेख परिवारका सदस्य र छिमेकीहरूको प्रयासमा सुरक्षित रहेको बताए।

उनले तत्कालीन घटनाको स्मरण गर्दै प्रचण्डसँग सम्बन्धित अधिकांश सामग्री जलेको र आफ्ना केही नोट तथा दस्तावेज भने आंशिक रूपमा सुरक्षित रहन सकेको उल्लेख गरे।

कार्यक्रममा नेता नेपालले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको योगदानको प्रशंसा गर्दै वि.सं. २००६ सालमा पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डसम्म पार्टीलाई जीवन्त राख्न उनले खेलेको भूमिका ऐतिहासिक र अविस्मरणीय रहेको बताए।

Leave Your Comment

Related News