काठमाडौं । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएका छन्। मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी छिन्।
यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा।केसीको स्वास्थ्य अवस्था,उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन्।
डा.केसीको हालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकहरूको सुझाव रहेकाले आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
डा. केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको हो।
यसैबीच,डा.केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा,विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।


