काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंक गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।
विवरण अनुसार बैंकको नाफा ३८ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
बैंकको नाफा बढ्नुमा सञ्चालन नाफाको सुधार र खुद ब्याज आम्दानीको योगदान रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब ७१ करोड ३३ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो। गत आर्थिक वर्षमा उक्त आम्दानी २८.९१ प्रतिशतले बढेर ८ अर्ब ६५ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ।
यता, खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा बैंकले खुद शुल्क तथा कमिसन बापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ थियो।
बैंकको लाभांश दिने क्षमतामा पनि वृद्धि भएको छ। गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो। बैंकको चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २०.८५ रुपैयाँ कायम भएको छ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ पुगेको छ। अघिल्लो आवमा चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ थियो। बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ। नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ।


