काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय सहमति भएको छ।
आइतबार भएको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र जिल्लामा सामाजिक एकता कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको हो।
बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई आवश्यक सहयोग गर्ने, अफवाहको पछि नलाग्ने तथा शान्ति सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्ने सहमति पनि गरेको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा विभिन्न पक्षका सरोकारवालाहरूले संयमित व्यवहार अपनाउँदै सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन्।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न सबै पक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। निर्णयसँगै जनप्रतिनिधि तथा सामाजिक एवं धार्मिक अगुवाहरूले स्थानीयस्तरमै सद्भाव कायम गर्न पहल सुरु गरिसकेको उनले बताए।
आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा स्थिति हिंसात्मक बनेको थियो। झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्। घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको छ भने स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र कानुन हातमा नलिन आग्रह गरेको छ।


