CLI

दाबी भुक्तानीका बेला नयाँ बीमा खरिद गर्न दबाब नदिन बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी गर्ने क्रममा बीमितलाई पुनः नयाँ बीमालेख खरिद गर्न दबाब नदिन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। यस्तो कार्य गरेको पाइएमा बीमा ऐन, २०७९ अनुसार कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।

प्राधिकरणका सहायक निर्देशक सुदीप गिरीका अनुसार पछिल्लो समय वैदेशिक रोजगार म्यादी बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानी गर्ने क्रममा केही बीमा कम्पनीहरूले बीमितलाई अर्को बीमालेख खरिद गर्न अनुचित दबाब दिने गरेको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको हो।

प्राधिकरणले बीमा दाबी भुक्तानी बीमकको करारीय दायित्व भएकाले त्यसलाई अर्को बीमालेख बिक्रीसँग जोड्न नपाइने स्पष्ट पारेको छ। दाबी भुक्तानीका बेला नयाँ बीमालेख खरिद गर्न शर्त राख्ने वा कुनै पनि प्रकारको अनुचित दबाब दिने कार्य कानुनविपरीत हुने प्राधिकरणको भनाइ छ।

यस्ता गतिविधि तत्काल रोक्न सबै जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई ध्यानाकर्षण गराउँदै प्राधिकरणले बीमितलाई अनावश्यक दुःख नदिन निर्देशन दिएको छ।

प्राधिकरणले निर्देशिकाको उल्लङ्घन गर्दै दाबी भुक्तानीलाई नयाँ बीमा बिक्रीसँग जोड्ने वा बीमितमाथि दबाब सिर्जना गर्ने बीमकविरुद्ध बीमा ऐन, २०७९ बमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।

Leave Your Comment

Related News