CLI

सुनसरी घटनामा प्रधानमन्त्रीको सर्वदलीय पहल आवश्यक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीमा विकसित पछिल्लो परिस्थितिलाई गम्भीर रूपमा लिएर प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी घटनाको सन्दर्भमा सर्वदलीय बैठक आह्वान गरेकोप्रति आभार व्यक्त गर्दै थापाले समयमै सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउने पहल गरेको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

बैठकमा नेपाली कांग्रेसले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको मूल शक्ति भएको उल्लेख गर्दै कुनै पनि व्यक्ति आवेग र उत्तेजनामा नआई धैर्य, संयम र संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेको थापाले बताए। उनले कांग्रेसले सार्वजनिक आह्वानसँगै पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिलाई व्यक्तिगत रूपमा सम्पर्क गरी शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका खेलिरहेको जानकारी पनि गराएका छन्।

उनले सबै राजनीतिक दलले आ–आफ्नो तहबाट गरिरहेका प्रयासलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सुनसरीसहित संवेदनशील जिल्लाहरूमा घटनाको प्रतीक्षा नगरी पूर्वसक्रिय रूपमा सर्वदलीय पहल गर्नुपर्ने आवश्यकता औँल्याए।

थापाले वर्तमान परिस्थितिमा सरकारको भूमिकाप्रति पनि प्रश्न उठाउँदै सरकारले केवल सुरक्षा परिचालनमा सीमित नभई नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनका अनुसार प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग भेट गर्ने तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी साझा प्रयासको वातावरण निर्माण गर्नुपर्थ्यो।

भूकम्प र कोभिड–१९ महामारीका बेला राजनीतिक मतभेदका बाबजुद सबै दल राष्ट्रिय संकटमा एकजुट भएको स्मरण गर्दै थापाले अहिले पनि त्यही राजनीतिक संस्कारलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

सुनसरी घटनाको छानबिनका लागि नेपाली कांग्रेसले संसद्मा आवाज उठाउने बताउँदै उनले घटनाका लागि व्यक्तिलाई मात्र दोषी ठहर गर्नु पर्याप्त नहुने र राज्य संयन्त्रको कार्यशैलीबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे। यद्यपि, वर्तमान संवेदनशील परिस्थितिमा सरकारलाई अप्ठ्यारोमा पार्ने उद्देश्य नरहेको र राष्ट्रिय हितका लागि सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर विश्वासको वातावरण निर्माण गर्न अग्रसर हुनुपर्नेमा जोड दिँदै थापाले आफ्नो धारणा रास्वपा सभापति तथा बैठकमा उपस्थित उपप्रधानमन्त्रीमार्फत सरकारसमक्ष पुर्‍याउन आग्रह गरिएको जानकारी दिए।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएकाले पार्टीको शोक कार्यक्रमका कारण आफूले सर्वदलीय बैठकमा प्रारम्भिक धारणा मात्र राखेर बाहिरिएको र थप छलफलमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा सहभागी रहेको थापाले जानकारी दिए।

Leave Your Comment

Related News