काठमाडौं । उद्योग विभागको पछिल्लो १० वर्ष (आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०८२/८३ जेठ सम्म) को तथ्यांक अनुसार नेपालमा वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धतामा सेवा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। यो अवधिमा सेवा क्षेत्रमा कुल १ खर्ब ३६ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढी प्रतिबद्धता भित्रिएको छ, जसमा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको अवधिमा लगातार भारी लगानी आएको देखिन्छ।
त्यसैगरी, कुल रु. १ खर्ब २६ अर्ब ३३ करोड रुपैयाँ प्रतिबद्धताका साथ पर्यटन क्षेत्र दोस्रो स्थानमा रहेको छ। आयोजनाको संख्याका आधारमा भने पर्यटन क्षेत्र वैदेशिक लगानीकर्ताको पहिलो रोजाइ बनेको छ, जहाँ पछिल्ला वर्षहरुमा मात्रै प्रतिवर्ष २०० देखि ३०० भन्दा बढी नयाँ आयोजनाहरु स्वीकृत भएका छन्। रकमका आधारमा यी दुई क्षेत्र (सेवा र पर्यटन) ले मात्रै कुल वैदेशिक लगानीको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
अर्थशास्त्रीका अनुसार नेपालमा वार्षिक रूपमा भित्रिने विदेशी पर्यटकको संख्यामा भएको निरन्तर वृद्धि र पर्यटन क्षेत्रमा हुने वैदेशिक लगानी एकअर्कासँग प्रत्यक्ष जोडिएका छन्। नेपाल आउने पर्यटकको बलियो उपस्थिति मुख्य कारक मानिएको छ। हालैका वर्षहरूमा वार्षिक साढे ११ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेसँगै पर्यटन बजारको विस्तार तीव्र भएको छ। उनका अनुसार “लाखौँको संख्यामा भित्रिने पर्यटकका कारण होटल, रिसोर्ट र पर्यटकीय पूर्वाधारमा गरिएको लगानीबाट छिटो र सुनिश्चित प्रतिफल प्राप्त हुने वातावरण बनेको छ। यही उच्च पर्यटक आगमनकै कारण बहुराष्ट्रिय स्टार होटल तथा लक्जरी रिसोर्ट शृङ्खलाहरू नेपालमा लगानी गर्न आकर्षित भएका छन्, जसले देशभित्र रोजगारीका अवसर सिर्जना गर्नुका साथै विदेशी मुद्रा सञ्चिति र समग्र अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो सहयोग पुर्याएको छ।”
समग्र १० वर्षको अवधिमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आर्थिक वर्ष २०८०/८१ मा आएको छ, जहाँ कुल रु. ६९ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइएको थियो।
अन्य क्षेत्रहरुको कुरा गर्दा, ठूला जलविद्युत् आयोजनाका कारण ऊर्जा क्षेत्र रु. ५६.५५ अर्ब प्रतिबद्धताका साथ तेस्रो स्थानमा छ भने उत्पादनमूलक क्षेत्र रु. ४५.६० अर्ब सहित चौथो स्थानमा रहेको छ। त्यसैगरी, कृषि तथा वन पैदावारमा रु. २८.२४ अर्ब विशेष गरी आर्थिक वर्ष २०८२/८३ मा रु. २२.०८ अर्ब र सूचना तथा सञ्चार प्रविधिमा रु. १९.६७ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधि क्षेत्रमा आयोजनाको संख्या उच्च रहे तापनि रकमको मात्रा भने तुलनात्मक रुपमा सानो छ। समग्रमा, नेपालमा विगत १० वर्षको अवधिमा औद्योगिक तथा पूर्वाधार क्षेत्रको तुलनामा सेवा, पर्यटन र प्रविधि आधारित क्षेत्रमै वैदेशिक लगानीकर्ताको आकर्षण बढी देखिएको छ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी मार्फत स्वीकृत हुने आयोजनाहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धताको ढाँचामा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। लगानीको कुल रकममा विगतका केही वर्षको तुलनामा केही गिरावट आए तापनि दर्ता हुने विदेशी परियोजनाको सङ्ख्यामा भने कीर्तिमानी वृद्धि भएको छ। उद्योग विभाग तथा सम्बन्धित निकायको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको ११ महिनामा ९१४ वटा वैदेशिक लगानीका परियोजनाहरु स्वीकृत भएका छन्, जुन विगत एक दशक यताकै एकै आर्थिक वर्षमा दर्ता भएको सबैभन्दा उच्च सङ्ख्या हो।
यस आर्थिक वर्ष २०८२/८३ (जेठसम्म) स्वीकृत भएका ९१४ परियोजनामार्फत कुल ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यी परियोजनाहरुको कुल अनुमानित लागत ६० अर्ब ५० करोड रुपैयाँ रहेको छ भने यिनले २५ हजार ४५० जनाका लागि नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन्। यसले नेपालमा साना तथा मझौला प्रकृतिका विदेशी उद्योग र सेवा क्षेत्रमा लगानीकर्ताको रुचि ह्वात्तै बढेको सङ्केत गर्दछ।
यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ८४२ वटा परियोजनामार्फत ६४ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो भने २६ हजार ३८४ जनाले रोजगारी पाउने प्रक्षेपण गरिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५३९ वटा परियोजना दर्ता हुँदा हालसम्मकै उच्च अर्थात् ६९ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ बराबरको FDI प्रतिबद्धता र १ खर्ब ३३ अर्ब १६ करोड रुपैयाँ बराबरको कुल परियोजना लागत रहेको थियो। विगतका वर्षहरुको तुलना गर्दा पछिल्ला दुई वर्षमा ठूला जलविद्युत् वा ठूला पूर्वाधारभन्दा पनि धेरै सङ्ख्याका साना-मझौला व्यवसायमा वैदेशिक पूँजी आकर्षित भएको देखिन्छ।
आर्थिक वर्ष २०७३/७४ देखि चालू आवको जेठसम्मको १० वर्षको एकीकृत तथ्याङ्कलाई हेर्दा नेपालले वैदेशिक लगानीमा ठूलो फड्को मारेको छ। यस अवधिमा कुल ४ हजार ४६९ वटा वैदेशिक लगानीका परियोजनाहरु दर्ता भएका छन्। यी सम्पूर्ण परियोजनाहरुको कुल लागत ५ खर्ब ८४ अर्ब ७७ करोड २१ लाख रुपैयाँ पुगेको छ भने यसमध्ये प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता मात्रै ४ खर्ब ३३ अर्ब १३ करोड ५५ लाख रुपैयाँ रहेको छ। साथै, यी १० वर्षमा दर्ता भएका उद्योग तथा परियोजनाहरुबाट कुल १ लाख ६८ हजार ३ जनालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त भइसकेको छ।
समग्रमा, वैदेशिक लगानीको यो तथ्याङ्कले नेपालको वैदेशिक लगानी परिदृश्यमा परिमाणात्मक वृद्धि भएको देखाउँछ। परियोजनाको आकार सानो भए तापनि उच्च सङ्ख्यामा लगानीकर्ताहरु भित्रिनाले स्थानीयस्तरमा उद्यमशीलता र प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने देखिन्छ। साथै, वार्षिक २५ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यले निरन्तरता पाउनुले देशको आन्तरिक श्रम बजार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



