काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरविरुद्ध ५ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा तत्कालीन एमआईएस अपरेटर कहाँरको बैंक खाताबाट ५ लाख रुपैयाँ जम्मा भएको प्रमाण फेला परेको हो।
अनुसन्धानबाट आर्थिक वर्ष २०७९/८० मा स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत रहेको ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनको जिम्मेवारी सुरेश कहाँरलाई दिइएको र सो कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाबाट ६ लाख रुपैयाँ पेश्की उपलब्ध गराइएको खुलेको आयोगले जनाएको छ।
आयोगका अनुसार पेश्की रकम खातामा आएलगत्तै त्यसमध्ये ५ लाख रुपैयाँ कार्यालय सहयोगीको नाममा चेक काटी उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको थियो। कार्यक्रम सञ्चालनका लागि खर्च भएको देखिने आधार नभएको तथा उक्त रकम घुसस्वरूप उपाध्यक्षलाई दिएको पुष्टि भएको आयोगको दाबी छ।
यस आधारमा उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी कैद, बिगोबराबर जरिवाना र रिसवतबापत लिइएको रकम जफतको माग गरिएको छ।
त्यसैगरी तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरविरुद्ध पनि सोही ५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम कैद, बिगोबराबर जरिवाना तथा रिसवत रकम जफतको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।


