CLI

ज्योति विकास बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न पाउने

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड सेवा सुरु गर्ने भएको छ। यसका लागि बैंक र एनसीएचएल बीच ईएफटी कार्ड सेवामार्फत नेपालपे कार्ड सञ्चालन गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, डिस्कभर र रुपे नेटवर्कका अन्तर्राष्ट्रिय कार्डसमेत स्वीकार गरी नेपालपे कार्डका कारोबार प्रशोधन गर्न सक्ने व्यवस्था हुनेछ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेको छ। डिस्कभर नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्ड नेपालभित्र मात्रै नभई विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमार्फत पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

हाल एनसीएचएलको ईएफटी सेवामार्फत ११ सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबार प्रशोधन गर्दै आएका छन्। नेपालपे प्रणाली विस्तारसँगै अन्य सदस्य बैंक तथा वित्तीय संस्थाले पनि नेपालपे कार्ड जारी तथा स्वीकार गर्ने तयारी गरिरहेका छन्।

एनसीएचएलका अनुसार हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध छन्। तीमध्ये ८ संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले कार्ड स्वीकार सेवा सञ्चालनमा ल्याइसकेका छन्।

ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। बैंकले डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राख्दै देशभर रहेका १२१ शाखा, २ एक्सटेन्सन काउन्टर र ७५ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

Leave Your Comment

Related News