काठमाडौं । काठमाडौं महानगरपालिकाले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिएको फ्ल्याट तथा कोठा खाली गर्न सूचना जारी गरेको छ।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गर्दै सहकारीका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा सदस्यलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विभागमा अनिवार्य रूपमा सम्पर्क गर्न आग्रह गरेको हो।
महानगरपालिकाका अनुसार सहकारी संघ–संस्थाले बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गराउने सम्बन्धमा गत साउन १६ गते निर्णय कार्यान्वयन समितिको बैठक बसेको थियो। सोही बैठकको निर्णयअनुसार सूचना जारी गरिएको हो।
सविता कुमारी बस्नेत वादी र सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक मनप्रसाद राई प्रतिवादी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाको न्यायिक समितिले २०८३ जेठ १० गते निर्णय गरेको थियो।
काठमाडौं महानगरपालिका–३२ मा रहेको घरको बहाल रकम दिलाई भराई फ्ल्याट तथा कोठा खाली गराइपाऊँ भन्ने मागसहित परेको मुद्दामा न्यायिक समितिले निर्णय गरेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सूचनामा तोकिएको १५ दिनभित्र सम्बन्धित व्यक्ति तथा पक्षहरू कानुन तथा मानव अधिकार विभागमा सम्पर्कमा नआए कानुन तथा प्रचलित नियमअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।


