CLI

क्यापिटल म्याक्सलाई ‘केयर-एनपी एथ्री’ रेटिङ, मार्जिन ट्रेडिङ सुरु गर्ने तयारी

काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले धितोपत्र दलाल कम्पनी क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (CMS) को १ अर्ब रुपैयाँ  बराबरको अल्पकालीन बैंक सुविधाका लागि ‘केयर-एनपी एथ्री’ (CARE-NP A3) रेटिङ प्रदान गरेको छ। कम्पनीले छोटो समयमै नेपालको सेयर बजारमा आफ्नो दरिलो उपस्थिति जनाउन सफल भएको, अत्याधुनिक प्रविधिमा आधारित (वेब-बेस्ड) ट्रेडिङ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेको र अनुभवी सञ्चालक तथा व्यवस्थापन टोलीद्वारा सञ्चालित रहेकाले यो रेटिङ दिइएको केयर रेटिङ्सले जनाएको छ

स्थापनाको छोटो अवधिमै क्यापिटल म्याक्स सेक्युरिटीजले सेयर बजारमा तीव्र गतिमा ग्राहक आधार विस्तार गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको बजार हिस्सा करिब २.१२ प्रतिशत पुगेको छ भने कम्पनीले २२ हजार ८१६ भन्दा बढी सक्रिय खुद्रा तथा संस्थागत ग्राहकहरूलाई सेवा दिइरहेको छ

यसका साथै कम्पनी नेपालका उत्कृष्ट १० ब्रोकर कम्पनीहरूको सूचीमा पर्न सफल भएको छ। कम्पनीको कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को रु. ३० अर्ब ३२ करोड ४० लाख (३०,३२४ मिलियन) बाट १८९ प्रतिशतले बढेर आर्थिक वर्ष २०८१/८२ मा रु. ८४ अर्ब ५६ करोड ३० लाख (८४,५६३ मिलियन) पुगेको थियो। चालू आर्थिक वर्ष २०८२/८३ मा पनि कम्पनीले रु. ६७ अर्ब ९१ करोड ४० लाख (६७,९१४ मिलियन) को कारोबार गर्दै आफ्नो व्यावसायिक गतिलाई निरन्तरता दिएको छ।

वित्तीय परिसूचकका हिसाबले कम्पनीको प्रदर्शन सन्तोषजनक रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारमा आएको तेजी र उच्च कारोबारका कारण कम्पनीको कुल सञ्चालन आम्दानी २५ करोड ४० लाख रुपैयाँ (२५४ मिलियन) पुगेको थियो, जुन अघिल्लो वर्षको ११ करोड रुपैयाँको तुलनामा करिब १३० प्रतिशतको वृद्धि हो।

सो अवधिमा कम्पनीको खुद नाफा १२ करोड ४० लाख रुपैयाँ  र ग्रस क्यास एक्युमुलेसन  १२ करोड ९० लाख रुपैयाँ  रहेको थियो। सञ्चालन लागतलाई नियन्त्रणमा राख्दै कम्पनीले लागत र आम्दानीको अनुपात  १४.१३ प्रतिशतमा सीमित राख्न सफल भएको छ। चालू आर्थिक वर्षको ९ महिनामा कम्पनीले १६ करोड ८० लाख रुपैयाँ  आम्दानी गरी ७ करोड ९० लाख रुपैयाँ  खुद नाफा कमाएको छ।

धितोपत्र बोर्डले फागुन २०८२ मा जारी गरेको ‘मार्जिन ट्रेडिङ सुविधा निर्देशिका’ अनुसार कम्पनीले आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याउने योजना बनाएको छ। यस कदमले कम्पनीको आम्दानीका स्रोतहरू विविधीकरण भई सेयर कमिसनमा मात्र रहने निर्भरता घट्ने अपेक्षा गरिएको छ। यद्यपि, कम्पनीको अधिकांश आम्दानी करिब ८५ प्रतिशत ब्रोकरेज कमिसनमै आधारित रहेकाले सेयर बजारको उतारचढावले नाफामा प्रत्यक्ष असर पार्ने जोखिम भने कायमै छ

साथै, कम्पनीको सञ्चालन इतिहास छोटो हुनु र बजारको मन्दी  मा यसको कार्यक्षमता परीक्षण हुन बाँकी रहनुलाई रेटिङ एजेन्सीले चुनौतीका रूपमा औंल्याएको छ

क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड  नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (स्टक ब्रोकर) तथा निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) कम्पनी हो। यो कम्पनी सुरुमा सेप्टेम्बर २७, २०२२ (२०७९ असोज ११) मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भई पछि फेब्रुअरी २७, २०२३ (२०७९ फागुन १५) मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। धितोपत्र दलाल कम्पनी भएकाले यसको मुख्य कारोबार सेयर बजारमा धितोपत्रको खरीद-बिक्रीमा सहजीकरण गरी कमिसन आम्दानी गर्नु हो। यसका साथै, क्यापिटल म्याक्स सेक्युरिटीजले निक्षेप सदस्य र ‘सर्टफल रिकभरी शुल्क’ मार्फत पनि आम्दानी गर्दछ।

Leave Your Comment

Related News