काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले अप्रिलदेखि जुनसम्मको अवधिमा २३ करोड ८० लाख डलर (करिब १७ करोड ६० लाख पाउन्ड) घाटा व्यहोरेको छ। कम्पनीले मिडियाभन्दा बाहिरका क्षेत्रमा, विशेषगरी क्रिप्टोकरेन्सीलगायतका व्यवसायमा विस्तार गरेपछि घाटा बढेको हो।
ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल सञ्चालन गर्ने कम्पनीका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस त्रैमासिकमा भएको घाटा १० गुणाभन्दा बढी हो।
कम्पनीले अब आफ्नो सामाजिक सञ्जालसम्बन्धी मुख्य व्यवसायमा पुनः केन्द्रित हुने जनाएको छ। यसअन्तर्गत प्लेटफर्मका प्रभावशाली प्रयोगकर्ताले पोस्ट गरेका बजारमा प्रभाव पार्न सक्ने सामग्रीमा छिटो पहुँच उपलब्ध गराउने विवादास्पद सेवा पनि समावेश छ।
कम्पनीका अनुसार उक्त सेवामा १० भन्दा बढी ग्राहक जोडिइसकेका छन्। उनीहरूले प्रतिमहिना ६० हजारदेखि १ लाख डलरसम्म शुल्क तिर्ने गरेका छन्।
जुलाईमा कम्पनीले वाल स्ट्रिटका कारोबारीलाई ट्रुथ सोसलमा प्रकाशित पोस्टमा छिटो पहुँच दिने योजना सार्वजनिक गरेको थियो। ट्रम्पले प्रायः महत्वपूर्ण घोषणा गर्न ट्रुथ सोसल प्रयोग गर्ने भएकाले उक्त सेवाले ग्राहकलाई सेयर तथा अन्य धेरै कारोबार हुने सम्पत्तिको किनबेचमा प्रतिस्पर्धात्मक लाभ दिने माध्यमका रूपमा हेरिएको छ।
‘ट्रुथएपीआई’ (TruthAPI) नाम दिइएको नयाँ सेवाले कम्पनीका लागि नयाँ आम्दानीको स्रोत सिर्जना गर्ने अपेक्षा गरिएको ट्रम्प मिडियाले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा जनाएको छ।
कम्पनीका अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन म्याकगर्नका अनुसार यो सेवा कम्पनीका लागि ‘महत्त्वपूर्ण’ र ‘दीर्घकालीन’ आम्दानीको स्रोत बन्ने विश्वास गरिएको छ। यो कम्पनीको व्यापक मिडिया रणनीतिसँगै अघि बढ्नेछ, जसमा विज्ञापन तथा डिजिटल सम्पत्तिसम्बन्धी व्यवसाय पनि समावेश छन्।
म्याकगर्नका अनुसार ट्रम्प मिडियाले प्रविधि कम्पनी, समाचार संस्था तथा बेटिङ (सट्टेबाजी) बजारसँग सम्बन्धित अवसरहरू पनि खोजिरहेको छ।



