काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकको खुद नाफा यस वर्ष १०४१.१६ प्रतिशतले बढेको हो।
बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म १० अर्ब ४५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब १५ करोडबाट घटेर १ अर्ब ६ करोड रुपैयाँमा आएको छ। बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड रुपैयाँ र सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, नाफा वृद्धिमा कर्जा नोक्सानीका लागि छुट्याइएको प्रावधानमा आएको कमीले महत्वपूर्ण भूमिका खेलेको छ। अघिल्लो आवमा ३ अर्ब ७५ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको बैंकले यसपटक २ अर्ब ८९ करोड रुपैयाँ मात्रै छुट्याएको छ।
बैंकको खराब कर्जा अनुपात भने उच्च छ। समीक्षा अवधिमा बैंकको एनपीएल अनुपात ७.९६ प्रतिशत पुगेको छ। उच्च निष्क्रिय कर्जाका कारण कर्जा असुली तथा सम्पत्तिको गुणस्तर बैंकका लागि प्रमुख चुनौती बनेको छ।
तर नाफामा ठूलो वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। ठूलो रकम कर्जा नोक्सानीको प्रावधान, नियामकीय रिजर्भ तथा उठ्न बाँकी ब्याजका कारण वितरणयोग्य नाफामा दबाब परेको बैंकले जनाएको छ।
बैंकको निक्षेप सङ्कलन बढेको छ। अघिल्लो आवको ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप समीक्षा अवधिमा बढेर ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। तर कर्जा प्रवाह भने घटेको छ। अघिल्लो आवमा २ खर्ब ३० अर्ब रुपैयाँ रहेको कर्जा लगानी समीक्षा अवधिमा घटेर २ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ।
बैंकको रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अर्कोतर्फ बैंकको रिजर्भ भने २६ अर्ब ८० करोड रुपैयाँ धनात्मक छ।
बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४८ पैसा, प्रतिशेयर कुल सम्पत्ति १ हजार ८५१ रुपैयाँ ४ पैसा र तरलता अनुपात ३५.३२ प्रतिशत रहेको छ।
हिमालयन बैंकले देशको विद्यमान आर्थिक शिथिलता, चुलिँदो प्रतिस्पर्धा र नीतिगत अनिश्चितताका कारण बैंकको सञ्चालनमा चौतर्फी चुनौती सिर्जना भएको जनाएको छ। पर्याप्त व्यावसायिक क्षेत्रको अभाव, बढ्दो मुद्रास्फीति तथा पूर्वाधारको कमीले बैंकको सम्पत्ति र दायित्व दुवैतर्फ जोखिम बढाएको छ भने कोषको लागत सन्तुलनमा राख्न र ब्याजदर घटाउन तीव्र दबाब परेको छ।
साथै, नियामकीय रिजर्भको बाध्यताका कारण वितरणयोग्य नाफा प्रभावित हुनुका साथै उच्च खराब कर्जा र गैर-बैंकिङ सम्पत्तिका कारण कर्जा असुली जटिल बन्दै जाँदा बैंकको पुँजी कोषको पर्याप्ततामा समेत ठूलो तनाव सिर्जना भएको छ।


