CLI
Global College

सुस्त अर्थतन्त्र र अस्वस्थ प्रतिस्पर्धाका बिच घट्यो बीमा कम्पनीहरुको नाफा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुको खुद नाफामा गिरावट आएको छ। चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले वर्षभरिमा कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ६ अर्ब ८ करोड ६० लाख रुपैयाँ कमाएका थिए।

रकमका आधारमा ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाउँदै आइएमई लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहन सफल भएको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ ५८ करोड २६ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। समीक्षा अवधिमा एलआईसी नेपालको नाफा २८.४५ प्रतिशत र सूर्यज्योति लाइफको नाफा ८.५५ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा अधिकांश कम्पनीहरुको नाफा प्रभावित भएको छ। मेट लाइफको नाफा ५५.२९ प्रतिशतले घट्दा हिमालयन लाइफको ४१.९० प्रतिशत, सन नेपालको २२.८४ प्रतिशत र नेपाल लाइफको १५.०२ प्रतिशतले घटेको छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने अघिल्लो वर्ष २ करोड १४ लाख रुपैयाँ नाफामा रहेकोमा गत आर्थिक वर्षमा २ करोड ३८ लाख रुपैयाँ ऋणात्मकमा  पुगेको छ।

आर्थिक मन्दीका कारण आर्थिक गतिविधिमा देखिएको सुस्तता र त्यसले बीमा व्यवसायमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नु आजको प्रमुख चुनौतीका रुपमा देखा परेको कम्पनीहरु बताउँछन्। अर्थतन्त्रमा कायम नकारात्मक प्रभावका बिच गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धिका लागि दक्ष जनशक्तिको अभाव, बढ्दो महँगी, तरलता सङ्कुचन तथा सुरक्षित, आकर्षक र दीर्घकालीन लगानीका अवसरको कमी जस्ता समस्याहरु जीवन बीमा क्षेत्रले झेलिरहेको छ।

यसका साथै जीवन बीमाबारे पर्याप्त जनचेतनाको कमी र जीवन बीमा कम्पनीहरुबिच कायम अस्वस्थ प्रतिस्पर्धालाई पनि मुख्य समस्याका रुपमा औँल्याइएको छ। यस्ता चुनौतीहरुका बिच बीमा व्यवसाय वृद्धिका लागि बीमाको पहुँच देशव्यापी रुपमा विस्तार गर्दै जनचेतना जागृत गराउने रणनीति लिइएको कम्पनीहरु बताउँछन्। नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही लगानी अन्तर्गतको जोखिमलाई ध्यानमा राखेर उच्च प्रतिफल प्रदान गर्ने मजबुत बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने नीति अवलम्बन गरिएको छ।

यता, निर्जीवन बीमा कम्पनीहरुको नाफामा पनि उल्लेख्य गिरावट आएको छ। निर्जीवन बीमा कम्पनीहरुको समग्र नाफा ३९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ रहेको थियो।

अरु निर्जीवन बीमा कम्पनीहरुको नाफा घटे पनि प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा २ अर्ब २ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले ५० करोड १२ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ भने कुल लगानी १ अर्ब २८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यसका साथै कम्पनीको प्रतिसेयर कुल सम्पत्ति ४०२ रुपैयाँ २४ पैसा रहेको छ।

कम्पनी व्यवस्थापनले विद्यमान प्रतिकूल आर्थिक अवस्थाका कारण नयाँ व्यवसाय विस्तारमा केही असर परेको जनाएको छ। यद्यपि, लगानी पोर्टफोलियोमा गरिएको विस्तारले आगामी दिनमा नाफा बढाउन टेवा पुग्ने कम्पनीको विश्वास छ। दैनिक व्यावसायिक सञ्चालन तथा दायित्वहरु पूरा गर्न पर्याप्त तरलता कायम राखिएको जनाउँदै कम्पनीले वित्तीय बजारका दबाबका बीच पनि हालसम्मको समग्र वित्तीय कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख गरेको छ।

Leave Your Comment

Related News