काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट मात्र ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्।
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १६ जना विजेताले जनही एक लाख रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाएका छन्।
दोस्रो पाक्षिकमा छनोट भएका १६ जना विजेतालाई प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ। २५ प्रतिशत कर कट्टीपछि उनीहरूले खुद एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। बम्पर पुरस्कारमा पनि २५ प्रतिशत कर लाग्ने व्यवस्था छ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नगद कारोबारतर्फ मात्रै ३ लाख ५७ हजार १४९ वटा बिल उपहार योजनाका लागि दर्ता भएका थिए। साउनको पहिलो १५ दिनमा यस्तो बिल दर्ता गर्नेको संख्या ७ हजार ७७ मात्रै थियो।
यस्तै, क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। पछिल्लो १७ दिनमा उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको विभागले जनाएको छ।


