काठमाडौं । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रु प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की थापाको पक्षमा फैसला सुनाएको हो।
सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एयरवेजको उडान नम्बर QR 744 मा थापामाथि तातो कफी पोखिएको थियो। उडानका क्रममा विमानका क्याबिन क्रुले दिएको कफी थापाको तिघ्रा तथा शरीरका संवेदनशील अंगमा पोखिएपछि उनलाई दोस्रो तहको जलन भएको अदालतको फैसलामा उल्लेख छ।
थापाले विमानभित्र पर्याप्त प्राथमिक उपचारको व्यवस्था नभएको, कफी अत्यधिक तातो रहेको तथा विमानका कर्मचारीको लापरबाहीका कारण आफूले शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको दाबी गर्दै क्षतिपूर्तिको मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्।
अदालतले विमान कम्पनीका कर्मचारीले तयार गरेको स्वास्थ्य घटना प्रतिवेदन बाहेक घटना यात्रुकै कारण भएको पुष्टि गर्ने स्वतन्त्र प्रमाण कतार एयरवेजले प्रस्तुत गर्न नसकेको ठहर गरेको छ। यात्रुले आफैँ कफी पोखेको वा खसालेको भन्ने कुरा प्रमाणित गर्ने भार पनि प्रतिवादी विमान कम्पनीमै रहने अदालतको निष्कर्ष छ।
अदालतले सेवा प्रदायक कम्पनी आफैँले तयार गरेको एक मात्र प्रतिवेदनका आधारमा घटना यात्रुकै कारणले भएको ठहर गरी कम्पनीलाई दायित्वबाट उन्मुक्ति दिन नसकिने जनाएको छ। साथै, उपभोक्ता संरक्षण ऐन, २०७५ ले वस्तु वा सेवाको प्रयोगबाट भएको हानि–नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार उपभोक्तालाई दिएको समेत अदालतले उल्लेख गरेको छ।
फैसलाअनुसार मोन्ट्रियल महासन्धि १९९९ को धारा २१(१) बमोजिमको कठोर दायित्व (Strict Liability) अन्तर्गत SDR १,२८,८२१ बराबरको क्षतिपूर्ति निर्धारण गरिएको छ। सो रकमलाई सम्बन्धित विनिमय दरअनुसार हिसाब गर्दा १ लाख ७७ हजार ३२४ अमेरिकी डलर, अर्थात् नेपाली रुपैयाँ २ करोड ४१ लाख ९२ हजार ४०६ बराबर हुन आएको अदालतले जनाएको छ।
त्यसैगरी, थापालाई परेको शारीरिक तथा मानसिक पीडा, जलनको उपचारमा लागेको खर्च र पेसा–व्यवसायमा परेको असरसमेतलाई ध्यानमा राखी थप २० लाख रुपैयाँ क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ।
यसरी मोन्ट्रियल महासन्धिअन्तर्गतको क्षतिपूर्ति र थप २० लाख रुपैयाँ गरी कतार एयरवेज ग्रुपले थापालाई कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो।
अदालतले थापाले माग गरेको थप २० लाख अमेरिकी डलर क्षतिपूर्तिको दाबी भने स्पष्ट र ठोस प्रमाणबाट पुष्टि हुन नसकेको भन्दै अस्वीकार गरेको छ।
फैसलामा क्षतिपूर्तिको रकम मुलुकी देवानी कार्यविधि संहिता, २०७४ बमोजिम लगत तयार गरी फैसला कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालतको तहसिल शाखालाई पठाउन आदेश दिइएको छ। फैसलामा चित्त नबुझे पक्षहरूले ३० दिनभित्र उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।


