काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि भदौ २१ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ।
बनेपा–५, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको स्वरोजगार लघुवित्तले बनेपा–१३, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेशस्तरीय कार्यक्षेत्र भएको विन नेपाल लघुवित्तलाई प्राप्ति गर्न लागेको हो।
उक्त प्राप्तिका लागि नेपाल राष्ट्र बैंकबाट २०८३ साउन ११ गते, कम्पनी रजिस्ट्रारको कार्यालयबाट साउन २९ गते र नेपाल धितोपत्र बोर्डबाट भदौ ४ गते अन्तिम स्वीकृति प्राप्त भएको संस्थाले जनाएको छ।
स्वीकृति प्राप्त भएसँगै भदौ २१ गतेदेखि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुने भएको छ।
प्राप्तिपछि विन नेपाल लघुवित्तको कारोबार तथा सेवा पनि स्वरोजगार लघुवित्तकै नामबाट सञ्चालन हुनेछ। संस्थाले यससम्बन्धी सूचना यसअघि भदौ ६ र ७ गते राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक गरिसकेको जनाएको छ।



