CLI
Global College

झन्डै ५ अर्बले बढ्यो जीवन बीमा व्यापार, कुन कम्पनिको कस्तो ?

काठमाडौं । जीवन बीमा व्यापार झन्डै ५ अर्बले बढेको छ । जीवन बीमा कम्पनीहरुले आठ महिनामा साढे ९८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्कमा यस्तो देखिएको हो  । समिक्षा अवधिमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड ६४ लाख रुपैयाँ बढी हो । जीवन बीमा व्यवसाय गत आवको तुलनामा ५.१२ प्रतिशत बढेको छ । पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै कम्पनीहरुको व्यापारमा क्रमिक सुधार देखिन थालेको हो ।

आवको फागुनसम्ममा कम्पनीहरुले ९३ अर्ब ७२ करोड ५१ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) १८ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र नविकरण मार्फत ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ।

व्यापारमा नेपाल लाइफकै वर्चश्व कायमै छ । आठ महिनाको अवधिमा कम्पनीले कुल २६ अर्ब ३० करोड ३० हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुमध्यकै सबैभन्दा धेरै हो । जुन गत आवको तुलनामा भने ७.८८ प्रतिशत बढेको छ ।

दोस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को देखिएको छ । कम्पनीले आठ महिनामा ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, गत आवको तुलनामा भने कम्पनीको व्यापार खास सुधार हुन सकेको छैन ।

तेस्रो सूचीमा रहेको नेशनल लाइफले पनि आठ महिनामा कुल ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । तर, व्यवसाय वृद्धिदरको आधारमा भने नेशनल लाइफ पहिलो सूचीमा छ । कम्पनीको व्यापार गत आवको तुलनामा १३.१० प्रतिशत बढेको छ ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स पनि शीर्ष सूचीमै छ । कम्पनीको व्यापार गत आवको फागुन मसान्तसम्मको तुलनामा भने १०.३४ प्रतिशत बढेर ११ अर्ब १८ करोड २ लाख रुपैयाँ कायम भएको छ ।

व्यवसाय वृद्धिका आधारमा भने एशियन र प्रभु महालक्ष्मी लाइफ पनि अगाडि नै छन् । समिक्षा अवधिमा एशियनले व्यापार १२.३८ प्रतिशत बढाएर ५ अर्ब १५ करोड ८७ लाख र प्रभु महालक्ष्मीले १२.३६ प्रतिशत बढाएर २ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, रिलायवल नेपाल लाइफको व्यापार पनि ११.६५ प्रतिशत, आइएमईको ७.७६ प्रतिशत, मेट लाइफको ७.१७ प्रतिशत, सिटिजनको ४.३५ प्रतिशत, सूर्यज्योतिको ४.०१ प्रतिशत वृद्धि भएको छ।

तर, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापारमा भने २२.३७ प्रतिशत गिरावट देखिएको छ । गत आवको फागुन मसान्तसम्ममा कम्पनीले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर ५ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ। यता, सन नेपाल लाइफको व्यापारमा पनि ४.४२ प्रतिशत कमी आएको छ । समिक्षा अवधिमा सन नेपालले कुल २ अर्ब ४७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

 

 

Leave Your Comment

Related News