कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट

Prabhu

काठमाडौं । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविधुत उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो ।

उत्पादन क्षमता धेरै भए पनि कर्णाली प्रदेशबाट राष्ट्रिय प्रशारण ग्रिडमा ८ दशमलव २५ मेगावाट मात्र जोडिएको छ । हाल १० मेगावाट जलविधुत आयोजना कर्णालीमा उत्पादन भइसकेको छ ।  कर्णालीका १० जिल्लाका ५७ प्रतिशत स्थानीयले मात्र बिधुत सेवा उपभोग गर्न पाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका सबै घरधुरीमा र कृषि, उधोग जस्ता सेवा क्षेत्रमा बिधुत माग पूर्ति गर्न प्रदेशभित्र निर्माणाधीन साना, ठूला जलविधुत आयोजनाको कामलाई तीव्रता दिनुपर्ने मन्त्रालयका सिडिई शर्माले बताए ।

सम्भाव्यता अध्ययनका लागि लाइसेन्स पाएका १९ जलविधुत आयोजना कर्णालीमा छन् । भेरी नदी जलविधुत आयोजना एक सय ४० मेगावाट सहरतारा डोल्पा, माथिल्लो भेरी जलविधुत आयोजना तीन सय १५ मेगावाट त्रिपुराकोट डोल्पा, ५७ मेगावाटको मुगु खोला जलविधुत आयोजना मुगु, सात दशमलव १ मेगावाट ताक्सुगाड जलविधुत आयोजना नलगाड जाजरकोट रहेका छन् ।

त्यसैगरी अपर रुरु बन्छुखोला जलविधुत आयोजना १९ दशमलव ६ मेगावाट  चिलखाया कालीकोट, ७० मेगावाटको चुवाखोला जलविधुत आयोजना बरुगङ्गा  हुम्ला, एक सय ३५ मेगावाटको नाम्ला खोला जलविधुत आयोजना मुगु, तीन सय ६ मेगावाटको अपर मुगु कर्णाली जलविधुत आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि लाइसेन्स लिएका छन् ।

सम्भाव्यता अध्ययनकै लाइसेन्स प्राप्त गरेका अन्य जलविधुत आयोजनाहरु ८२ दशमलव ३ मेगावाटको जगदुल्ला जलविधुत आयोजना–ए, चार दशमलव ७८ मेगावाटको सिस्नेखोला जलविधुत आयोजना रुकुम पश्चिम, ३० दशमलव २ मेगावाट रतमाखोला जलविधुत आयोजना रुकुम, ३० मेगावाटको सानीभेरी–३ मुसिकोट जलविधुत आयोजना, छ दशमलव ३ मेगावाट अपर टाक्सुजलविद्युत् आयोजना  जाजरकोट, एक सय ५२ मेगावाटको मुछुलिमी हुम्ला, ४० मेगावाटको पेल्माखोला जलविधुत आयोजना रुकुम, ६० मेगावाटको अपरसानीभेरी जलविधुत आयोजना रुकुम, जिल्ली चुमाइ जलविधुत आयोजना एक सय मेगावाट कालीकोट र तीन दशमलव ५ मेगावाटको फेदीखोला जलविधुत आयोजना डोल्पा छन् ।

हाल कर्णालीमा निर्माणाधीन जलविधुत आयोजनाको सङ्ख्या २१ वटा रहेको बिधुत विकास विभागले जनाएको छ । ती जलबिधुत आयोजनामध्ये सबैभन्दा बढी साविकको कर्णालीमा छन् । सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा ३३ केभी प्रशारण लाइन विधुत राष्ट्रिय प्रशारणमा जोडिसकेको छ भने एक सय ३२ केभी प्रशारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल सुर्खेतसम्म मात्र निर्माण हुने एक सय ३२ केभी प्रशारण लाइन अन्य जिल्लामा पनि विस्तार गर्नुपर्ने माग छ ।

निर्माणाधीन जलविधुत आयोजनाहरुमा तीन दशमलव ७५ मेगावाटको दवारीखोला जलविधुत आयोजना, चार दशमलव ५ मेगावाटको पदमखोला जलविधुत आयोजना, ४६ दशमवलव ८ मेगावाटको भेरी बबई डाइभर्सन जलविधुत बहुउद्देश्य आयोजना, चार सय १७ मेगावाटको नलगाड जलविधुत आयोजना, एक सय ६ मेगावाटको जगदुल्ला जलविधुत आयोजना र चार सय २६ मेगावाटको फुर्कोट कर्णाली जलविधुत आयोजना रहेका छन् ।

त्यसैगरी बेपन कर्णाली सञ्चयकर्ता जलविधुत आयोजना चार सय ३९ मेगावाट, माथिल्लो कर्णाली जलविधुत आयोजना नौ सय मेगावाट, मुगु कर्णाली जलविधुत आयोजना एक हजार नौ सय २ मेगावाट, तिला–१ जलविधुत आयोजना चार सय ४० मेगावाट, तिला–२ जलविधुत आयोजना चार सय २० मेगावाट, भेरी–१ जलविधुत आयोजना दुई सय ७० मेगावाट जाजरकोट, हुम्ला कर्णाली–१ जलबीधुत आयोजना दुई सय ३५ मेगावाट निर्माणाधीन अवस्थामा छन् ।

हुम्ला कर्णाली–२ मेगावाट जलविधुत आयोजना तीन सय ४५ मेगावाट, मुगु कर्णाली जलविधुत आयोजना एक सय ५९ मेगावाट, सानीभेरी–३ जलविधुत आयोजना ४९ मेगावाट, रुरुबच्छुखोला–२ जलविधुत आयोजना १२ मेगावाट, अपर लोहरेखोला ४ मेगावाट, सानीभेरी जलबिधुत आयोजना ४४ मेगावाट, भेरी नदी जलाशय जलबिधुत आयोजना तीन सय मेगावाट र सुपरचुवाखोला जलविधुत आयोजना ९० मेगावाट आयोजना निर्माणधीण अवस्थामा छन् । ४०० केभी प्रसारण लाइन भेरी करिडोरमा

जाजरकोट नलगाडको दानी पीपलदेखि सुर्खेतको मेहलकुना सम्म चार सय केभी प्रशारण लाइन निर्माण कार्य अघि बढेको छ । सव स्टेशनका लागि जग्गा खरिद भई मुआब्जासमेत वितरण भइसकेको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतका अनुसार एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ

दानीपिपलमा नलगाड, ताक्सुगाड र जगदुल्ला जलविधुत आयोजनाको विधुत जम्मा गरेर नेशनल ग्रिडमा जडान गर्ने लक्ष्य छ । जाजरकोटका स्थानीय समेत रहेका उर्जामन्त्री बस्नेतले कर्णालीमा रहेका जलविद्युत् आयोजना निर्माण गर्न लगानी जुटाउनुपर्ने चुनौती रहेको बताए ।

कर्णालीमा विद्युत् उत्पादन क्षमता धेरै भएकाले सबैको ध्यान अहिले कर्णालीमा रहेको मन्त्री बस्नेतको भनाइ छ । केही समययता सुर्खेतदेखि नेपालगञ्जसम्म विद्युतीय  सवारीसाधनको प्रयोग बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार