एआईआईबी र नेपाल राष्ट्र बैंकका अधिकारीहरुबीच भेटवार्ता ; पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह

Prabhu

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू र नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली बीच भेटवार्ता भएको छ ।

एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र सहित बैङ्कका उच्च पदस्त  अधिकारीहरूसँग भेटवार्ता गरेको हो ।

भेटमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे चर्चा गरेका थिए ।

उनले नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताउनुको साथै , वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको जानकारि दिँदै लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराएका थिए ।

नेपालको पूर्वाधार विकासमा आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरलगायतका विषयमा चासो राखेका थिए । साथै, उनीहरूले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका लागि नेपाललले गरेको  नीतिगत प्रयासबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसरलगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो ।

एआईआईबीको स्थापना एसियाली र अन्य सदस्य मुलुकको दिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा भएको हो । यसको मुख्यालय चीनको बेइजिङमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार