१६औँ योजनाका लागि गठबन्धन सम्बध्ध दलसँग आयोगको छलफल

Prabhu

काठमाडौं । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

सत्ता साझेदार दलको बीचमा सो अन्तर्क्रिया कार्यक्रममा आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले  १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराएका थिए भने आयोगका सहसचिव महेश भट्टराईले प्रस्तुति राखेका थिए । उपाध्यक्ष डा. श्रेष्ठका अनुसार राजनीतिक दलहरुबाट प्राप्त सुझावहरु समेटेर मस्यौदालाई अन्तिम रुप दिइनेछ ।

आयोगले यसअघि १६ औं योजनाको बिषयमा  विज्ञहरुसँग सुझाव  सहित अन्तर्क्रिया कार्यक्रम गर्नुका साथै आवधिक योजनाका लागि प्रदेश स्तरिय र पालिका स्तरियकार्यक्रबाट  सुझाव समेत संकलन गरेको थियो  ।

योजना आयोगका अनुसार विभिन्न क्षेत्रगत रणनीतिसहितका हस्तक्षेपकारी कार्यक्रम राखेर आवधिक योजनाको मस्यौदा तयार पारिएको छ । मुख्य १४ वटा शीर्षकमा रुपान्तरणकारी रणनीति, प्रमुख हस्तक्षेपकारी कार्यक्रम र परिमाणात्मक लक्ष्यसहितको खाका आवधिक योजनामा राखिएको छ । समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र तीव्रतर आर्थिक वृद्धि, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षालगायतका क्षेत्रगत रुपमा शीर्षक राखिएका छन् । गुणस्तरीय पूर्वाधार एवं एकीकृत यातायात व्यवस्था प्रणाली, आधुनिक, दिगो र व्यवस्थित शहरीकरण तथा बस्ती विकास, लैङ्गिक सशक्तीकरण, सामाजिक समावेशीकरण र परिचालन, प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास, गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण शीर्षकमा परिच्छेद छुट्याइएका छन् । प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती पश्चात्को सहजीकरण र दिगो विकास लक्ष्य र हरित अर्थतन्त्रलगायतका विषय आवधिक योजनामा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार