निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

Prabhu

काठमाडौं   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताइका छन् । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्  ।

“अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिनेगरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए ।

“दवावका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौँ । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी छ, त्यसो गरिन्छ ।”

“नयाँ वर्षको सुरूआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ । विदेशी लगानी भित्राउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।”

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार