श्रमिकका लागि ‘श्रमाधान’ सेवा सुरु

Prabhu

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यका साथ ‘श्रमाधान’ सेवा सुरु गरेको छ ।

मे १ वा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार पत्रकार सम्मेलन आयोजना गरी श्रमाधान सेवाको शुभारम्भ गरे।

मन्त्री अर्यालले स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान सेवाको सुरुवात गरेको बताए।

उनले यो सेवा बृहत् र व्यावहारिक योजना भएको दाबीसमेत गरे। उनले श्रमाधानले श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए।

मन्त्री अर्यालले श्रमाधानमा सात वटा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएको जानकारी गराए। उनले विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सिप, पुँजी र ज्ञानलाई सम्बोधन गर्ने कार्यक्रम पनि समावेश गरिएको बताए।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बरसमेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार