अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौं महानगरपालिकाको १०/१० लाख अनुदान सहयोग

Prabhu

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई १०/ १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ ।

पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेका थिए ।

दाङको राजपुर गाउँपालिका वडा नं. ७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् ।
यस्तै, वैशाख ८ र ९ गते गुल्मी जिल्लाको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।

सहयोग रकम गाउँपालिकाहरुको प्रकोप व्यवस्थापन कोषमा पठाइनेछ ।

महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
जरलहवा टोलमा वैशाख १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार