तालिममा सिकेको सिपलाई रोजगार र स्वरोजगारसँग जोड्नु ‘सिप मेला’को मुख्य विशेषताः उपप्रमुख डंगोल

Prabhu

काठमाडौं ।  टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् । बुधबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै उनीहरुले यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताए ।

उनीहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, सिपमूलक तालिमका धेरै आयाम भएको बताउँदै यसलाई पूर्ण बनाउन अनेक चरण र तहमा काम गर्नुपर्ने, यी तह र चरणमा साझेदारहरुसँग सहकार्य हुन सक्ने धारणा राखिन्। ‘राम्रो काम गर्ने दायित्व सबैको हो । धेरै राम्रा काम मिलाएर उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।’ उनले भनिन्, ‘अहिले तालिममा जसले भाग लिनुभएको छ । उहाँहरुलाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङ जोड्ने लक्ष्यसहित काम भइरहेको छ । अहिले प्राप्त गरेको तालिमको स्तरलाई बढाउने काम पनि छ । हामी यस्ता क्षेत्रमा सहकार्य अगाडि बढाउन सक्छौँ ।’

भेटका क्रममा प्रतिनिधिमण्डलले, सिप मेलामा सहभागिता, तालिम व्यवस्थापन, विषय छनोट, यसको श्रम बजारमा सम्बन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिए । विद्यालयहरुमा शिक्षासँगै सिप सिकाउँदै जानु उत्कृष्ट कामको थालनी हो । यस क्षेत्रमा सहकार्य गर्न रहेको उनीहरुको भनाइ छ।

सिप मेलामा सहभागीको आकर्षणका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘१४ हजारभन्दा बढी आवेदकले तालिममा सहभागी हुने इच्छा राख्नुभएको छ । हामी सिप मेलाका अतिरिक्त नियमित तालिमका कार्यक्रममार्फत आवेदकको अपेक्षा पूरा गर्न खोजिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार