राज्य नियन्त्रणकारी मात्रै बन्नु हुदैन, निजी क्षेत्रले नाफा मात्रको सोच त्याग्नु पर्छ- रामराजा श्रेष्ठ

Prabhu

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का अध्यक्ष रामराजा श्रेष्ठले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको ले हिमालय होटलमा आयोजना गरिएको नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कार्यक्रममा यस्तो बताएका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै उनले चेम्बर (निजी क्षेत्र) र इकोनोमिक मिडिया सोसाइटी(इम्सन) एक अर्काका परिपुरक भएको बताए । ‘तपाईहरुका प्रचारप्रसाररमा हाम्रो सहयोग चाहिन्छ भने हाम्रा संस्था संचालनका लागि तपाईहरुको महत्वपूर्ण भुमिका रहन्छ,’ उनले भने, ‘आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इम्सन पनि निजी क्षेत्रकै एक अभिन्न अंग हो ।‘
इम्सनमा २६ वटा आर्थिक मिडियाहरु सदस्य रहेको र ४ सय आर्थिक पत्रकारहरुलाई इम्सन आवद्ध संस्थाहरुले रोजगारी दिएको बताउँदै उनले इम्सन पनि रोजगारदाताहरुको संस्था पनि भएको स्पष्ट पारे ।
उनले कार्यक्रममा निजी क्षेत्र अर्थतन्त्रको चालक हो भने इम्सनले सरकार र निजी क्षेत्रलाई जोड्न पुलको काम गर्दै आएको बताए ।
‘देशमा उद्योग धन्दा खुल्नुपर्छ, नागरिकले रोजगारी पाउनुपर्छ, लगानीकर्ताले नाफा कमाउनुपर्छ र राज्यको कराधार वृद्धि हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ उनले भने, ‘सोही अनुरुप सरकारले निजी क्षेत्रलाई सहजिकरण गरिदिनुपर्छ ।’
राज्यले आफुलाई नियन्त्रणकारी निकायका रुपमा मात्रै प्रस्तुत गर्न नहुने र निजी क्षेत्रले जसरी पनि नाफा मात्र कमाउने सोच पाल्नु नहुने उनको भनाई थियो ।
‘नाफा कमाउँदा हुने गल्ति वापत व्यवसायीलाई जेल हाल्नु हुन्न, उसलाई गल्ति बमोजिमको जरिवाना गर्नुपर्छ तर पक्रेर जेल हालेर लगानीको वातावरण बिगार्न हुन्न,’ उनले भने, ‘वित्तिय अपराधको सजाय पनि वित्तिय नै हुनुपर्छ भन्ने हाम्रा निष्कर्ष छ ।’
सरकार नियन्त्रणकारी सोँचबाट अघि बढ्ने अनि निजी क्षेत्रले नाफा मात्रै हेर्ने परिपाटीमाथि इम्सनले खबरदारी गरिराख्ने उनको भनाई छ ।
बजेटहरु अवास्तविक, कर्मकाण्डी र अपरिपक्क दस्ताबेजका रुपमा आउँदा देशमा लगानीको वातावरण नबनेको उनको भनाई छ । नियम संगत काम गर्ने व्यवसायीहरु मारमा परिरहने, गलत काम गर्नेहरुको व्यवसायीक उत्थान भइरहने परिपाटीको अन्त्य हुनुपर्ने धारणा उनले राखेका थिए ।
‘बजेटमार्फत करका दरहरु बढाउने भन्दा पनि करका दायराहरु बढाउने तर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘पुँजीगत खर्चसँगै खर्चको गुणस्तर बढाउने उपायहरुको पनि खोजी आवश्यक छ ।’
पहिला देश अनि विदेश भनेझै स्वदेशी लगानीकर्ताहरुको मनोबल बढाउन सरकारले बिशेष प्याकेज ल्याउनुपर्छ र त्यसका लागि चेम्बरले पहल कदमी लिनुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार