नेपालीलाई काठमाडौँबाटै रोमानियाको नै भिसा उपलब्ध गराउन श्रम मन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीचको श्रम अवस्था लगायतका विषयमा आपसी हितबारे छलफल भएको छ ।
छलफलमा श्रममन्त्री अर्यालले रोमानिया र नेपालबीच श्रम समझदारी समेत भइसकेको तर, भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
छलफलमा श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानियामा पनि मान्यता दिने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । यस्तै, रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न समेत सचिव उपाध्यायले आग्रह गरेका छन् ।
राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सरल प्रक्रियाबाट नेपाली श्रमिक लिन चाहेको बताइन् । साथै रोमानियामा नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुको माग रहेको उनको भनाइ छ ।
राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरी देखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेका थिए ।
नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कुटनीति सम्बन्ध स्थापित भएको हो । श्रम सम्बन्धी समझदारी भने सन् २०२३ को अक्टोबर ६ मा भएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार