CLI
Global College

धितोपत्र बोर्डको अध्यक्षका लागि १८ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की , नेप्सेका पूर्वसिइओ सीताराम थपलिया, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं रहेका छन् । त्यस्तै नेपाल बैंकका पूर्वसिइओ कृष्णबहादुर अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, मुक्ति अर्याल, बिमल तिवारी, प्रवीण पन्दाक, शंकरमान सिंह, खगेन्द्र कटुवाल, रघु काफ्ले, सन्तोष प्रसाद श्रेष्ठ, शिवहरि श्रेष्ठले आवेदन दिएका छन् ।

सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । जसमा उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य छन् । सिफारिस समितिले गत १५ फागुनमा राष्ट्रिय दैनिकमार्फत सूचना निकालेको थियो । सिफारिस समितिले ‘अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिले धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि कार्यविधि बनाएपछि आवेदन खुला गर्नुपर्छ । अध्यक्ष उम्मेदवारले विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि परेको पुरानो आवेदनलाई खारेज गरी नयाँ आवेदन खुला गरिएको हो । मन्त्रिपरिषद्ले छनोट समिति गठन गरेपछि समितिकै सिफारिसमा अर्थ मन्त्रालयले नयाँ आवेदन खुला गरेको हो ।

 

Leave Your Comment

Related News