नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रचण्ड जाँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  नयाँदिल्ली प्रस्थान गर्ने  भएका छन् ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा  उनकी सुपुत्री तथा स्वकिय सचिब गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । भारतिय प्रधानमन्त्री मोदीले आज साँझ तेस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार