काठमाडौं ।भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने भएको छ । यसका लागि कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशका लागि २४ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज १६ गते, बुधबार, बिहान ११ बजे, अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौंमा हुनेछ।
कम्पनीले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३६८ प्रतिशत नगद लाभांश (कुल १४.७३ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव विद्युत् नियमन आयोग र साधारण सभाको स्वीकृतिपछि मात्र लागू हुनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सानको छलफल हुनेछ भने २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका विषयहरू पनि उठाइनेछ।
लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, भदौ ३१ सम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् र सभामा भाग लिन पाउनेछन्।


