CLI
Global College

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई प्रतिफल दिने घोषणा गरेको छ । असोज १३ गते बसेको क्यापिटलको सञ्चालक समितिले गत आवको मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई प्रतिफल दिने घोषणा गरेको हो ।

सिटिजन्स म्युचुअल फण्ड—१ बाट कर सहित ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६.५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि असोज २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फण्ड—१, सिटिजन्स म्युचुअल फण्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने छ ।

गत आवमा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तीनै वटा योजनाहरुमा लाभांश दिन सक्षम भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

 

Leave Your Comment

Related News