काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन्। कम्पनीका अनुसार बुधबार साँझ ४ बजेसम्म आवेदन दिने समयावधिमा महेश रिमाल, लक्ष्मण पराजुली, प्रकाशमान बर्जचार्य, रामदेव यादव, सुन्दर पन्थी, रामकृष्ण पन्थी, रोहित रेग्मी, र राजुनाथ खनालले आवेदन दिएका हुन्।
आवेदन दिनेहरुमा महेश रिमाल हाल कम्पनीको कार्यवाहक सीईओका रूपमा कार्यरत छन्। लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्समा उच्च व्यवस्थापकका रूपमा कार्यरत छन्। प्रकाशमान बर्जचार्यले प्राइम कमर्सियल बैंकमा उच्च व्यवस्थापकको रूपमा अनुभव हासिल गरेका छन्।
रामदेव यादव पूर्व बैंकर हुन् र उनले विभिन्न विकास बैंकमा उच्च पदमा काम गरेका छन्। सुन्दर पन्थी नेपाल बैंकमा उच्च व्यवस्थापक पदमा कार्यरत छन् भने रामकृष्ण पन्थी महालेखा नियन्त्रक कार्यालयका उपसचिवबाट सेवानिवृत्त भएका व्यक्ति हुन्।
रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उपनिर्देशकका रूपमा कार्यरत छन् भने राजुनाथ खनाल नेपाल बैंकका सेवानिवृत्त कर्मचारी हुन्।
कम्पनीले मंसिर ६ गते दोस्रो पटक सीईओका लागि आवेदन आह्वान गरेको थियो। यसअघि, पहिलो आवेदन प्रक्रियामा कुनै पनि उम्मेदवारले निर्धारित न्यूनतम ६० अंक प्राप्त गर्न नसकेपछि कम्पनीले पुन: आवेदन माग गरेको हो।
सीईओ पदका लागि योग्य उम्मेदवार छनोट गर्ने क्रममा कम्पनीले पेशागत अनुभव, नेतृत्व क्षमता, र कार्यकुशलतालाई मुख्य प्राथमिकतामा राखेको छ। आवेदन दिएका व्यक्तिहरूको विविध पृष्ठभूमिले कम्पनीलाई सक्षम नेतृत्व चयन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।


