काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभा ललितपुरको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्युमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
स्वतन्त्र सञ्चालक नियुक्ति पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


